२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

एकै पटक ७२ सहसचिवको सरुवा

सरकारले एकैपटक ७२ जना सचिव (राजपत्रांकित प्रथम श्रेणी) लाई सरुवा गरेको छ । मन्त्रीपरिषद्को गत साउन २६ गते बसेको बैठकले ठूलो संख्यमा एकैपटक मथिल्लो तहका कर्मचारीहरूको सरुवा गरेको छ । सरुवा गरिएका कर्मचारीमध्ये धेरैजसो प्रदेश सचिवलाई चलाइएको छ । 

यसैगरी दुईवटा विभागमा महानिर्देशक नै सरुवा गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई राष्ट्रिय समावेशी आयोग लगिएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णालीमा लगिएको छ । 

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई राष्ट्रिय आयोजना आयोगको कार्यालय लगिएको छ । सहरी विकास मन्त्रालयका सहसचिवहरू गणेश वस्ती, मिलन आचार्य र रवीन्द्र बोहोरालाई सरुवा गरिएको छ भने राजकुमार गोइत र अशोक साहलाई प्रदेशबाट मन्त्रालय ल्याइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत सहसचिव योगेन्द्रप्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ । यसैगरी लोकसेवा आयोगमा कार्यरत सहसचिव मुक्तिराम अर्याललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ ।

सरकारले ठूलो मात्रामा प्रदेश सचिवहरूको सरुवा गरेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रदेश सचिवहरू सरुवामा परेका छन् । मन्त्रीपरिषद्ले सरुवा र कामकाज गरी दुई किसिमबाट सहसचिवहरूको सरुवा गरेको हो । अर्थ मन्त्रालयम कार्यरत श्रीकृष्ण नेपाललाई अर्थबाट झिकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा पठाइएको छ । 

संघीय मामिलामा कार्यरत पिताम्बर घिमिरेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ । यसैगरी केही जिल्लामा प्रमुख जिल्ला अधिकारीको नै सरुवा गरिएको छ ।

प्रकाशित: २८ श्रावण २०८२ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App