१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ छन्। सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ।

कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, सूर्य गौतम, धनराज ज्ञवाली (कानुन समूहतर्फ), खगेन्द्र प्रसाद नेपाल र रमेशकुमार सिंह कार्यरत छन्। यीमध्ये सिंहलाई अतिरिक्त समूहमा राखिएको छ। प्राविधिक समूहको दरबन्दी सिर्जना भएपछि अब उनी दरबन्दीमै बस्ने भएका छन्।

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।

पुनर्निर्माण प्राधिकरण खारेज भएपछि प्राधिकरण्मा कार्यरत सचिव सुशीलचन्द्र तिवारीले पनि प्रधानमन्त्री कार्यालयमा हाजिरी गर्दै आएका छन्। यद्यपि, सरकारले उनलाई सतर्कता केन्द्रमा सरुवा गरेको छ। तिवारीले सोमबारसम्म प्रधानमन्त्री कार्यालयमै हाजिरी गरेका छन्।

यसैगरी सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयमा तानेको छ। प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीहरूले भने यसबारे आफू जानकार नभएको बताए। बुर्लाकोटीले सोमबारसम्म सुदूरपश्चिम प्रदेशमै हाजिरी गरेका छन्।

हाल प्रधानमन्त्री कार्यालयमा एक कानुन सचिवसहित पाँच सचिवको दरबन्दी छ। तर, विशेष परिस्थिति भन्दै ५ बाट ७ पुर्‍याइएको छ। प्रधानमन्त्री कार्यालयमा थप दुईवटा सचिवको दरबन्दी सिर्जना गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। उनका अनुसार थप गरिएका दुईवटा दरबन्दीमा एउटा दरबन्दी प्रशासन समूहका र अर्को एउटा प्राविधिक समूहका हुन्।

पुनर्निर्माण प्राधिकरण खारेज भएपछि प्राधिकरणमा राखिएको प्राविधिक समू्हका एक सचिवलाई व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालमया प्राविधिक समूहको सचिवको दरबन्दी थप गरिएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

प्रशासन समूहका सचिव खगेन्द्रप्रसाद नेपाल लामो समयदेखि गम्भीर अस्वस्थ छन्। उनले काम गर्न सक्ने अवस्था छैन। उनले राजीनामा पनि गरेका छैनन। सरकारले उनलाई राजीनामा गर्न लगाएको छैन। यस सम्बन्धमा कानुनमा व्यवस्था नभएकाले लामो समयदेखि अस्वस्थ्य कर्मचारीको विषयमा केही निर्णय गर्न नसकिएको प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारी बताउँछन्। ती कर्मचारीका अनुसार अस्वस्थ सचिवको ठाउँमा प्रशासन समूहको थप एक सचिवको दरबन्दी सिर्जना गरिएको हो।

प्रकाशित: २९ पुस २०७८ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App