१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जन्मघरमा पृथ्वीनारायण शाहको तीन सयऔँ जन्मजयन्ती

मंगलबार तीन सयऔँ पृथ्वीजयन्ती, पृथ्वीनारायण शाहको जन्मघर, नेपाल एकीकरणको सुरुवात भएको गोरखामा धुमधामले मनाइएको छ।

गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्रहालय परिसरमा भव्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको हो।

गोरखा नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका विभिन्न जाति, धर्म, भेषभुषासहित सर्वसाधारण झाँकी, र्यालीमा सरिक भएका थिए। गोरखा सदरमुकामको हरमटारीदेखि ठूलो आगनसम्म भएको र्यालीमा पञ्चेबाजा, पाउँदुरे, भजन, चुड्का, लाखे नाच, पृथ्वीनारायण शाहाकालीन पोशाक लगाएका सेना सहभागी भएका थिए।

अघिल्लो वर्ष कोभिड १९ को प्रभावका कारण पृथ्वी जयन्तीमा अहिलेजस्तो भव्य कार्यक्रम आयोजना भएन। त्यसअघि दुई सय ९८ औँ जन्मजयन्तीमा पनि गोरखा नगरपालिकाले नगरपालिकाले विशेष कार्यक्रम गरेको थियो। गोरखाबासी हर्सोउल्लासका साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सरिक भए।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा संग्रहालय परिसरमा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले पृथ्वीनारायण शाहको सम्मान र प्रचारमा गोरखाले विशेष जोड दिनुपर्ने बताए। सहभागीहरुले पृथ्वीनारायण शाहले वर्तमान नेपालको निर्माण गरेकै कारण नेपाली भएर बस्न पाएकोमा गर्व भएको बताउँदै गोरखाले इतिहास बेच्न नसकेको गुनासो पनि पोखे।

जिल्ला समन्वय समिति प्रमुख ओशक कुमार गुरुङ र नगरप्रमुख पन्तले शालिकमा माल्र्यापण गरेर कार्यक्रम शुभारम्भ गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, राजनीतिक दलका नेता तथा नगरिक समाजका अगुवाहरुले धारणा राखेका थिए।  

पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिका सहित पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, अजिरकोट, सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। यस्तै पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले पनि झाँकी र्यालीसहित सालिक रहेको स्थान गोरखा संग्रहालय परिसरमा माल्यार्पण गरेको अध्यक्ष भगबानदास मल्लले बताए। साथै राप्रपाले गोरखा सदरमुकाम अन्तक्रिया कार्यक्रम पनि गरेको थियो।

प्रकाशित: २७ पुस २०७८ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App