१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा-ओली भेटवार्ता: संसद् गतिरोध अन्त्य होला?

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटमा वार्ता गर्दै। तस्बिर सौजन्य: राजन काफ्ले

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्।

‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत सभामुख उभिएपछि त्यसलाई सच्याउन हामीले बैठक सञ्चालनमा अवरोध गर्नुपरेको हो, सभामुखले निकास दिए गतिरोध अन्त्य हुन्छ’, एमाले अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार नै गरेको भन्न मिल्दैन तर संसद्मा गतिरोध उत्पन्न हुनुमा सभामुख बाधक छन्। यो कुरा प्रधानमन्त्रीलाई पनि थाहा छ। सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्नेमा एमालेको अडान यथावत् छ भन्ने कुरा अध्यक्षले भन्नुभएको छ। भेटवार्तालाई सकारात्मक रुपमा लिइएको छ। यसको अर्थ एमाले आफ्नो अडानबाट पछि हट्यो भन्ने होइन।’  

ओलीनिकट स्रोतका अनुसार संसद्को गतिरोध अन्त्य गरौं भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई सिधै अस्वीकार गरेको भन्न मिल्दैन तर एमालेको माग पूरा नहुँदासम्म संसद् चल्दैन। ‘प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गरौं भन्नुभयो। ओलीले एमालेका कारण गतिरोध भएको होइन, सभामुखले जे गतिविधि गर्नुभयो, त्यो एमाले विभाजनका लागि गरिएको थियो, त्यो गल्ती सभामुखले महसुस गर्नुपर्छ, माफी माग्नुपर्छ भन्नुभयो’, स्रोतले भन्यो।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान एमाले अध्यक्ष ओली निवास पुगेर संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले संसद् खुलाएर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता अनुमोदन गर्न पनि प्रस्ताव गरेका थिए। एमसिसीबारे ओलीले पुरानै कुरा दोहो¥याएका थिए। ‘एमसिसी सम्झौता गर्दाको बखतका दलहरू नै अहिले सरकारमा भएको, एमसिसी पास गर्न सरकारलाई प्रमुख प्रतिपक्षीको आवश्यकता नपर्ने, सरकारसँगै बहुमत भएको र सरकारले संसद्मा एमसिसी टेबुल गरेपछि मात्रै एमालेले धारणा बनाउनेछ’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।  

देउवाले संसद्को गतिरोध हटाउन प्रतिपक्षीको भूमिका अहं हुने विषयमा चर्चा गरे पनि ओलीले त्यसमा खासै चासो नदिएको स्रोतको दाबी छ। ‘एमाले आफ्नै अडानमा छ। सरकारका तर्फबाट प्रधानमन्त्री भेट्न आउनु सकारात्मक हो। सम्बन्धमा केही सुधार त आयो होला तर सभामुखको भूमिका नसच्चिए वा सभामुखले संसदीय मर्यादाविपरीत गरेका कार्यको समीक्षा नहुँदासम्म संसद्को गतिरोध अन्त्य हुने सम्भावना निकै कम छ’, ओली निकट स्रोतले भन्यो, ‘सभामुखले माफी मागेपछि मात्रै एमालेले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सोच्नेछ।’ एमालेले कारबाही सिफारिस गरेका सांसदलाई सभामुखले पदच्यूत नगरी पार्टी विभाजनमा सहयोग गरेको एमालेको आरोप छ।  

एमालेले आफूले सिफारिस गरेका १४ सांसदलाई सभामुखले कारबाही गरी पदबाट हटाउनुपर्ने वा सभामुखले पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएको छ। तर, देउवासँगको कुराकानीमा ओलीले सभामुखको राजीनामाभन्दा पनि उनले कमजोरी स्वीकार गर्नुपर्ने बताएको स्रोतको दाबी छ। तर एमाले नेताहरूले राजीनामाको विषय यथावत् रहेको बताएका छन्।

भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा भने कुनै जानकारी दिएका छैनन्। एमाले अध्यक्ष ओलीका सञ्चार संयोजक रामशरण बजागाईंले दुवै नेताबीचको भेटमा तेस्रो व्यक्ति कोही पनि सहभागी नभएकाले केही जानकारी नभएको बताए। सत्ता गठबन्धन दलको शुक्रबारको बैठकले संसद्को गतिरोध अन्त्य गर्न एमाले अध्यक्ष ओलीलाई भेटेर मनाउन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने निर्णय गरेपछि देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका थिए। देउवाले ओलीसँग राष्ट्रिय राजनीतिका बारेमा पनि कुराकानी गरेका थिए।  

यसअघि सत्ता गठबन्धन दलले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले ओलीसँग भेटघाट गरेका थिए। ‘संसद्को गतिरोध अन्त्य गर्नुप¥यो भनेर त पौडेलजी पनि आउनुभएकै हो तर एमालेले पहिलादेखि जुन धारणा राख्दै आएको छ, त्यसमै अडिग छ’, ओली निकट नेताको भनाइ छ। एमाले विभाजनमा सभामुख सापकोटाको मुख्य भूमिका रहेकाले उनले गल्ती सच्याउनुपर्ने वा माफी माग्नुपर्ने उसको पुरानै माग हो। ‘एमसिसीबारे एमालेले तत्काल बोल्नै पर्दैन, सभामुखले गल्ती भयो भनून्, यही एमालेको धारणा हो’, एमाले स्रोतले भन्यो। पौडेलले बुधबार बालकोट पुगेर ओलीलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए।  

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा र सभामुखले डाकेका सर्वदलीय बैठक एमालेले बहिष्कार गर्दै आएको छ। एमालेले सर्वदलीय बैठक बहिष्कार गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले देउवालाई बालोकट पुगेरै संवाद गर्न आग्रह गरेका थिए। ‘एमाले विभाजनमा मुख्यतः सभामुख सापकोटाको प्रमुख भूमिका रहेको छ। एमालेले कारबाही गरेका सांसदलाई जोगाएर निर्वाचन आयोगमा दल दर्ता गर्न दिनु उनको सबैभन्दा ठूलो गल्ती हो। यस विषयमा सभामुखले माफी माग्नुपर्छ’, एमालेका एक नेताले भने।  

एमालेबाट अलग भएर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीको वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। एमालेले नेकपा एस र सो दलका सांसदको वैधानिकतामा पनि प्रश्न उठाउँदै आएको छ। एमालेले भदौ २३ पछि संसद् बैठक सञ्चालनमा अवरोध खडा गर्दै आएको छ।  

ओलीविरुद्ध नेपाल आक्रामक

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गर्न थालेका छन्। उनले शनिबार प्रधानमन्त्रीबाट निकालिएको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेकाले डाक्टर भए उपचार गरिदिनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा नेपालले भुक्दै हिँडेका ओलीलाई राप्रपा र महन्थ ठाकुर प्यारो भएको आरोप पनि लगाए। उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष दाहालको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन ओलीले पार्टी एकीकरण गरेको आरोप लगाए। उनले ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको बताए। 

‘अहिले तपाईंहरूलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ। महन्थ ठाकुर प्यारा छन्, विदेशीहरू प्यारा छन्, आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन्, जसले उनलाई पुज्दैनन्, जसले उनको भजन गाउँदैनन्, उनीहरू प्यारा छैनन्।’ प्रधानमन्त्रीबाट निस्कनुपरेपछि ओलीले जे पायो त्यही बोल्न थालेको नेपालले बताए। ‘कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ। तपाईंहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनुभए हुन्छ। बिचराको त्यो हालत ! बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नुपरेको छ’, नेपालले भने।

प्रकाशित: २५ पुस २०७८ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App