coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै देउवाको भ्रमण रद्द भएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको थियो। नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।

देउवाको आइतबारदेखि हुने भनिएको भ्रमण पनि राजकीय नभएर भारतको एउटा राज्य गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका थिए। त्यहाँ उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम थियो। अनौपचारिक रूपमा देउवा र भारतीय समकक्षी मोदीबीच नोभेम्बरमा स्कटल्याण्डको ग्लास्गोमा आयोजना भएको जललायु सम्मेलनमा भेट भएको थियो।

प्रधानमन्त्री देउवाको भ्रमणको मिति नजिकिँदै गर्दा पत्नी आरजु देउवा भारत गएकी थिइन्। भ्रमणका क्रममा उनले भारतीय नेताहरूसँग भेट गरेकी थिइन्। आरजुको भ्रमण देउवाको भ्रमणको पूर्वतयारीका लागि भएको बताइन्छ। कतिपयले परराष्ट्रमन्त्रीले गर्नुपर्ने पूर्वतयारीको काम प्रधानमन्त्री पत्नी आरजुले गरिरहेको भन्दै आलोचना गरेका छन्।

सोमबार हुने भनिएको भाइब्रेन्ट गुजरात कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन भारतले विभिन्न पाँच मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो। जसमा प्रधानमन्त्री देउवासहित रुसका प्रधानमन्त्री, मौरिससका प्रधानमन्त्री, सोलोभानियाका प्रधानमन्त्री तथा मोजाम्बिकका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको थियो।

यसैबीच, परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार टेलिफोनका कुराकानी भएको छ। टेलिफोनमा दुई देशबीच विकास साझेदारी, कोरोनासम्बन्धी सहयोग, दुईपक्षीय सम्बन्ध थप बलियो बनाउनेलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सार्क सम्मेलनबारे सहमति भएको छैन

भारतले अहिलेकै अवस्थामा सार्क सम्मेलन हुन नसक्ने जनाएको छ। बिहीबार भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले साप्ताहिक पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्रीले सार्क सम्मेलनका विषयमा बोलेको कुरा उल्लेख गर्दै सन् २०१४ देखि किन सार्क शिखर सम्मेलन हुन सकेन भन्ने जान्नुपर्ने बताएका छन्। उनले अहिले पनि परिस्थितिमा कुनै परिवर्तन नभएको जनाउँदै सार्क सम्मेलन आयोजन गर्ने विषयमा कुनै सहमति नभएको बताए।

महाकाली नदीमाथि पुल बन्ने

भारतले महाकाली नदीमाथि पुल बनाउने भएको छ। मन्त्रिपरिषद्ले नेपालको दार्चुला जिल्ला हुँदै भारतको उत्तराखण्ड जोड्नेगरी सीमानदी महाकालीमा पुल बनाउने निर्णय गरेको भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरलाई उद्धृत भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पुल निर्माणका लागि छिट्टै समझदारीपत्र (एमओयु) गर्ने तयारीसमेत भएको भारतीय मन्त्री ठाकुरले जनाएका छन्। गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। भारतीय सुरक्षाकर्मीको लापरबाहीले नेपाली नागरिकले ज्यान गुमाएपछि भारतीय पक्षको चर्काे आलोचना भएको थियो।

यस विषयमा छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको थियो। समितिले एसएसबीकै उपस्थितिमा घटना भएको प्रतिवेदन बुझाए पनि नेपाल सरकारले अहिलेसम्म यस विषयमा भारतसँग औपचारिक रूपमा छलफल अघि बढाउन सकेको छैन्।

प्रकाशित: २३ पुस २०७८ ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App