६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।  

बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो? सो कुरा जान्न चाहेको भनी सभापति देउवालाई प्रश्न गरेकाक हुन्। उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताए। पार्टी सभापतिलाई मनपर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ। नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौँ’ उनले भने, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनि प्रश्न उठ्न सक्छ। सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाइ लाग्छ।’

उनले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाइ छ।

नेता कोइरालाले आगामी तीनवटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताए। कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उनले बताए। पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उनको भनाइ छ।

प्रकाशित: २१ पुस २०७८ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App