६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसका पुराना नेता शर्मा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार

नेपाली कांग्रेसका पुराना नेता युवराज शर्मा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन्। कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका ७१ वर्षीय शर्मालाई पार्टीले आसन्न राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवार बनाएको हो।

२०४५ देखि २०४९ सालसम्म उनी कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए। पार्टीमा योगदान धेरै भएपनि विगतदेखि हरेक अवसरबाट उनी बञ्चित हुँदै आएको उनका सहकर्मी बताउँछन्।

पञ्चायत विरोधी गतिविधि गरेका कारण उनी २०२४ सालमा पहिलो पटक जेल परेका थिए। २०२४ सालपछि पटक–पटक गरेर आफू ३/४ वर्षजति जेल बसेको उनी सम्झिन्छन्।

२०२५ सालमा विपी कोइरालासँग भारतको गोरखपुरमा उनको पहिलो पटक भेट भएको थियो। ‘विपीलाई भेट्न मसँगै डा. केशवराज शर्मा, अंगिरा सम्शेर, डा. अरुण कोइराला, सुरज श्रेष्ठसहित आठ जना गएका थियौं,’ विगतलाई सम्झिदै उनले भने ‘त्यहाँ विपीका विचार र निर्देशन सुनेर नेपालमा पार्टीका कामहरु भूमिगत भएर गथ्र्यौ।’ विपी कोइरालासँग बाक्लो भेटघाट हुन थालेपछि आफू उनको विचारबाट धेरै प्रभावित भएको र कांगे्रेसको राजनीतिमा लागेको शर्माले सुनाए।

उनी सुरुमा पढाइको शिलशिलामा भारतको बनारशमा गएका थिए। त्यहाँ विपी कोइरालाका विचार सुनेर प्रभावित भई नेपाल विद्यार्थी संघ र कांगे्रेसको राजनीतिमा लागे। २०२७ सालमा भारतको बनारसबाट प्रतिनिधी भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा सहभागी भएका थिए।

२०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष हुँदा यिनै शर्मा उपाध्यक्ष भएर काम गरेका थिए। राजनीतिसँगै केही वर्ष शिक्षण पेशामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिव समेत भएका थिए।

पार्टीको राजनीतिमा रहँदा उनको तत्कालिन नेता सुशिल कोइरालासँग सुरुमा राम्रै सम्बन्ध थियो। २०४८ सालपछि भने कोइरालासँग बैचारिक द्वन्द्व सुरु भयो। कोइराला राजनीतिमा अगाडी बढ्दै गए। तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनै पनि पाएनन्।

कोइराला र शर्माबीच द्वन्द्व यसरी बढ्यो कि उनलाई हरेक अवसरबाट बञ्चित गराइयो। कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए। शर्मालाई पार्टीले एक पटक पनि सांसदको टिकट दिएन। पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिएण्। कोइरालासँग उनी कहिल्यै झुकेनन् र कोइरालाले पनि उनलाई कहिल्यै अवसर दिएनन्।

‘सुशिलजीसँग मेरो वैचारिक द्वन्द्व भयो, उहाँसँग मेरो विवाद भएपछि गिरिजा बाबुले पनि मलाई रुचाउनु भएन, अनि हरेक अवसरबाट मलाई बञ्चित गराइयो,’ उनी सम्झन्छन््। नेपालगन्ज निवासी शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन्। उनी कांग्रेसको १४ औं महाधिवेशनमा बाँकेको क्षेत्र नम्बर ३ बाट खसआर्य कोटामा महाधिवेशन प्रतिनिधी सर्वसम्मत निर्वाचित भएका थिए।

‘ढिलै भएपनि पार्टीले मलाई मुल्यांकन गरेको छ, यसको लागि म सभापति शेरबहादुर देउवा जी लगायत केन्द्रिय कार्यसमितिका साथीहरुलाई धन्यवाद दिन्छु,’ उनले भने ‘राष्ट्रिय सभामा निर्वाचित भएपछि मैले संम्बैधानिक र पार्टीको दायित्व पूरा गर्नेछु।’ आफूले संविधानले दिएको ब्यवस्था अनुसार पदीय दायित्व पूरा गर्ने नेता शर्मा बताउँछन्। पुराना नेता शर्मालाई अहिले पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएर ठुलो न्याय गरेको यहाँका कांग्रेस नेता, कार्यकर्ता तथा उनका शुभेच्छुक बताउँछन्।

प्रकाशित: १९ पुस २०७८ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App