coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

नेपाल निजामति कर्मचारी युनियन संघको आठौं जिल्ला अधिवेशक उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाही। तस्बिरः नगेन्द्र/नागरिक

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै दुबैको सहकार्यले मात्रै काममा सफलता मिल्ने बताए।

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको मुल फुटाउन जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनु आवश्यक छ।’

मुख्यमन्त्री शाहीले संघ, प्रदेश र स्थानीय तहमार्फत छुट्याएको पुँजीगत बजेटको प्रभावकारी खर्च गर्न र जनतालाई विकासको अनुभूति दिनका लागि कर्मचारी संयन्त्र सक्रिय हुनुपर्ने बताए। ‘पुँजीगत बजेट समयमै प्रभावकारी ढंगले खर्च गर्न सकेमात्रै जनताले विकासको अनुभूति गर्न पाउँछन्,’ उनले भने, ‘यो कार्यमा कर्मचारी संयन्त्रको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ।’ मुख्यमन्त्री शाहीले समयको महत्व नबुझ्दा कर्णाली विकासमा पछाडि परेको बताए। ‘समय पैसा हो, समय जीवन हो,’ उनले भने, ‘समयको महत्व नबुझ्दा कर्णाली विकासमा पछाडि परेको छ, त्यसैले समयलाई सबैले ख्याल गर्नुहोला।’

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सार्वजनिक गरेका विकास निर्माणका कामहरु प्रभावकारी कार्यान्वयन नभएको बताए। उनले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए। ‘कर्णालीका पहाडी तथा हिमाली भूगोलमा चाँडै बजेट कार्यान्वयन गर्न नसके सरकारको लक्ष्य अनुसार विकास संभव छैन,’ उनले भने, ‘आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परिपाटीको अन्त्य गर्दै हरेक महिना कार्ययोजना बनाएर कर्मचारीले काम गर्न आवश्यक छ।’

मुख्यमन्त्री शाहीले हिमाली र उच्च पहाडी क्षेत्रको विकास र समृद्धिका लागि त्यहाँको भूगोल सुहाउँदो कार्यक्रम ल्याइने पनि बताए।

प्रकाशित: १७ पुस २०७८ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App