नेपाली कांग्रेस काठमाडौं जिल्लाका १० क्षेत्रीय सभापतिमध्ये ७ जना र महानगरका सभापति नियमित महाधिवेशनकै पक्षमा उभिएका छन्। शुक्रबार एक संयुक्त वक्तव्य जारी गरेर मागकर्ताबाट बोलाइएको विशेष महाधिवेशन अवैधानिक ठहर गर्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।
संयुक्त वक्तव्यमा पार्टी विधानअनुसार नियमित महाधिवेशन प्रत्याभूत भइसकेको अवस्थामा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन पार्टीको हितमा नहुने उल्लेख छ। त्यसले पार्टीलाई विभाजनतर्फ लैजानसक्ने चिन्ता पनि वक्तव्यमा छ।
विशेष महाधिवेशनको बहसलाई अगाडि बढाउँदा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई क्षति पुग्ने सभापतिहरूले जनाएका छन्।
वक्तव्यमा काठमाडौं क्षेत्र नम्बर २ का सभापति कवीर शर्मा, क्षेत्र नम्बर ५ का सभापति श्यामबहादुर खड्का, क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गी, क्षेत्र नम्बर ७ का कार्यवाहक सभापति नविन मानन्धर, क्षेत्र नम्बर ८ का सभापति राजेश श्रेष्ठ, ९ का सभापति जयकृष्ण महर्जन, १० का सभापति पुकार महर्जन र काठमाडौं महानगरका सभापति निलकाजी महर्जनको हस्ताक्षर छ।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँ भने विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

प्रकाशित: २५ पुस २०८२ १७:५३ शुक्रबार





