७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

जिल्ला कार्यदलले टुंग्यायो एमाले धरानको विवाद, अध्यक्षमा एभेङ

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षमा हर्कजंग एभेङलाई निरन्तरता दिने निर्णय गरेको छ।

धरानको विवाद गठन गर्न एमाले सुनसरी जिल्ला कमिटीको बैठकले अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले धरानको विवाद समाधान गर्न एभेङलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो। अर्को जेठ २ पक्षधर कमिटीका अध्यक्ष नारायण सुवेदी जिल्ला कमिटी सदस्यसमेत रहेकोले खाली रहेको धरान उपमहानगर इञ्चार्ज बनाउने निर्णय गरेको छ।

यसैगरि, संस्थापन पक्षको उपाध्यक्ष सविता राईलाई जिल्ला कमिटीमा मनोनित गर्ने र उक्त खाली रहेको पदमा अर्को कमिटीका सचिव पारस काङमाङ राईलाई उपाध्यक्ष बनाउने पनि कार्यदलले निर्णय गरेको संयोजक एवं एमाले जिल्ला अध्यक्ष पोख्रेलले जानकारी दिए। जेठ २ पक्षको कमिटीका उपाध्यक्ष रहेका राजमणी निरौलालाई जिल्ला कमिटीमा लगेर उचित विभागको जिम्मेवारी पनि दिने कार्यदलको निर्णय छ। सचिवमा भने संस्थापन पक्षकै सुदेश चापगाईलाई निरन्तरता दिने कार्यदलले निर्णय गरेको छ।

उपसचिवमा दुवै तर्फबाट एक एक जना राखेर विवाद मिलाउने कार्यदलको भनाई छ। उपसचिवमा संस्थापन पक्षबाट जोन राई र सुमन लिम्बु छन् भने जेठ २ पक्ष कमिटीको उपसचिवमा राजेन्द्र राई र दिवस राई छन्। यी चार जनामध्ये दुवै पक्षबाट एक एक जना राखेर मिलाउने संयोजक पोख्रेलले बताए।

गत कार्तिक ९ गते धरानमा विवाद नमिलेपछि एमालेको नगर अधिवेशन दुई पक्षले अलग अलग गरेका थिए। संस्थापन पक्षले धरान १० सैनिक भवनमा अधिवेशन गर्दै एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी बनाएको थियो भने अर्को पक्षले धरान १५ होटल इजीराइडरमा अधिवेशन गर्दै नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो।

पार्टी जिल्ला कमिटीको अधिवेशन पुष २३ गते हुने मिति तय भएपछि धरानको विवाद मिलाउन जिल्ला कमिटीलाई दबाब परेको थियो। सोही अनुसार पुष ७ गते बसेको जिल्ला कमिटी बैठकले अध्यक्ष पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलको निर्णय प्राप्त नभएपनि जानकारी पाइसकेको एमाले धरान अध्यक्ष एभेङले बताए। उनले अब उपसचिव र सदस्यहरु पनि नगर कमिटीले नै मिलाएर पार्टीलाई एकढिक्का बनाउने बताए।

उनका अनुसार ८५ जना सदस्यीय कमिटी र १० प्रतिशत मनोनित गर्दा ९४ सदस्यीय कमिटी बन्ने छ। दुवै कमिटीका केही सदस्यहरुलाई अन्य कमिटीमा व्यवस्थापन गरेर मिलाउने एभेङले बताए।

प्रकाशित: ११ पुस २०७८ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App