५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

दोलखा एमालेको नेतृत्व सम्हाल्न रस्साकस्सी

पुस २३ गते घोषणा गरेको जिल्ला अधिवेशन नजिकिँदै जाँदा दोलखा एमालेको पार्टी नेतृत्वमा पुग्न नेताहरुबीच रस्साकस्सी चलेको छ। पार्टी फुटेको अवस्थामा एकताको सन्देश दिन सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने केन्द्रको नीतिका कारण संशय एकातिर छँदाछँदै दोलखा एमाले भित्रको एउटा पंक्ति नै सर्वसम्मतका नाममा कार्यकर्तालाई अन्याय हुने कारण लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छान्न लागि परेको छ।

नेतृत्वमा आकांक्षी वर्तमान अध्यक्ष बाहेकका प्रायः पदाधिकारी देखिएका छन्। वर्तमान अध्यक्ष ईश्वरचन्द्र पोखरेलले आफू अध्यक्षमा नदोहोर्‍याउने घोषणा गरेका छन्। प्रदेश र केन्द्रीय कमिटी विस्तार प्रति असन्तुष्टी जनाउँदै जिल्ला अध्यक्षबाट राजीनामाको घोषणा गरेका उनलाई अधिवेशन सम्पन्न गरेर मात्र छाड्न दबाब परेपछि पुस २३ गते अधिवेशन मिति घोषणा गरेर पोखरेल तयारीमा लागेका हुन्।

वर्तमान जिल्ला कमिटीका उपाध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव भरत दुलाल, उपसचिव डबल पाण्डे र सचिवालय सदस्य भरत केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनीहरुले नेता तथा कार्यकर्ताहरुसंगको भेटघाट र ‘लविङ’ लाई तीव्रता दिएका छन्।

मेलुङ गाउँपालिकाका अध्यक्ष समेत रहेका नरबहादुर दोलखा एमालेका पुराना र सहनसिल स्वभावका नेता हुन्। तर राजनीतिमा हरेक मुद्दामा सहने स्वभाव राम्रो नहुने भन्दै कार्यकर्ता उनको बेला बेलामा आलोचना समेत गर्ने गर्छन्। उनी पदाधिकारीका हिसाबले अनुभवी मानिन्छन्।

यस्तै दुई पटक जिल्ला पार्टी सचिव भईसकेका दुलाल सामाजिक सञ्जालबाट महिलालाई अश्लिल च्याट मार्फत दुर्व्यवहार गरेको भन्दै यसअघि पार्टी भित्र एक पटक सचिव पदबाटै निलम्बनमा परेका थिए। उनी शैलुङ गाउँपालिकाका अध्यक्ष समेत हुन्।

जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका उपसचिव पाण्डे पुराना नेता हुन्। तर उनी आफ्नो दाबीमा अडिग नहुने हुन कि भन्ने आशंका कार्यकर्ताहरुले गर्न थालेका छन्। उनका विरोधीहरुले प्रदेश सांसद वा सोही पदमा दोहोर्‍याउने अस्त्रका रुपमा अध्यक्ष पदको आकांक्षालाई प्रयोग गरेर उनी अन्तिममा फिर्ता हुन सक्ने समेत बताउने गरेका छन्।

भीमेश्वर नगरपालिकाका मेयर समेत रहेका सचिवालय सदस्य केसी १० बर्ष अघिको जिल्ला अधिवेशनमा अध्यक्ष लडेका थिए। कार्यकर्तालाई मिठो बोलिबचन नगर्न ‘सन्की’ स्वभाव भनेर एमालेकै कार्यकर्ता उनको आलोचना समेत गर्छन्।

आकांक्षीहरु जिल्लाका शक्ति केन्द्र मानिएका नेताहरुको आशिर्वाद जुटाउने दौडधुपमा उत्तिकै छन्। दोलखा एमाले भित्र पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री  पार्वत गुरुङ र अर्का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेल शक्तिशाली मानिन्छन्। चारै जना आकांक्षी गुरुङ निकट हुन्। प्राय गुरुङ निकटकै आकांक्षी देखिएकाले पोखरेलले सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने धारणा निकटवर्तीहरुसंग राख्दै आएका छन्।

सर्वसम्मति गर्दा एउटै अनुहार नेतृत्वमा पुग्ने र कार्यकर्तामा नेतृत्व विकास नहुने कारण निर्वाचन विधिबाटै भएपनि नेतृत्व छान्नुपर्ने बलियो मत दोलखा एमाले भित्र देखिएको एक जिल्ला कमिटी सदस्यले सुनाए। ‘चुनाव गराउँदा नेताहरु ‘फिल्टर’ हुन्छन् र नयाँ मान्छे पनि नेतृत्वमा पुग्छन्, त्यसैले दोलखा एमालेको सांगठनिक साख जोगाईराख्न चुनाव गराउनुपर्छ भन्ने एउटा बलियो मत पार्टी भित्र देखिन्छ’, ति जिल्ला कमिटी सदस्यले सुनाए। उनका अनुसार यसमा सबैभन्दा बढी जोड वर्तमान अध्यक्ष ईश्वर पोखरेल लगायतको छ। पोखरेलले अहिलेसम्म कसलई समर्थन गर्ने भनेर मुख भने खोलेका छैनन्। कार्यकर्ताहरु पोखरेलको साथ कता रहन्छ भनेर हेरिरहेका छन्।

निर्वाचनै भएमा चारै जनाबीच हुने लख कतिपय कार्यकर्ताले काट्ने गरेका छन्। चारै जनाबीच चुनाव हुँदा वा आकांक्षी घट्दा समेत हालका उपाध्यक्ष श्रेष्ठ र सचिवालय सदस्य केसीबीच मुख्य प्रतिष्पर्धा हुनसक्ने आंकलन कतिपयको छ। नरबहादुरलाई नेता गुरुङको साथ रहने र त्यसो भएमा पोलिटब्युरो सदस्य पोखरेलसहित गुरुङ ईतरले केसीलाई सघाउन सक्ने सम्भावना कतिपय कार्यकर्ताले देखेका छन्। ‘पाण्डे र दुलालको व्यवस्थापन गरेर दुई मात्र प्रतिष्पर्धी हुन पनि सक्छन, चारै जना भएका छन् भने पनि अन्तिममा प्रतिष्पर्धा हुने नै यि दुईबीच हो’, पार्टीका एक सचिवालय सदस्यले अनुमान गर्दै भने, ‘तर केही गरी दुवैको राजनीतिक भविष्यको पक्का पक्की वा सुनिश्चित हुने अवस्था आएछ भने सर्वसम्मतिलाई नकार्न पनि सकिन्न।

पार्टी जिल्ला उपाध्यक्ष, सचिवसहितका पदाधिकारीमा होम पाठक, हिरा थोकर, धर्मेन्द्र मोक्तान, राजेन्द्र मानन्धर, जिवसराज खड्का, हरिवंश चौलागाई, सुन्दर विश्वकर्मा, ईश्वर न्यौपाने, कमला बस्नेत लगायतको चर्चा छ।

प्रकाशित: ९ पुस २०७८ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App