१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनः निधि/कोइराला–देउवा पक्षबीच प्रतिस्पर्धा

७२ पदमा १८० उम्मेदवार<br>

नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनमा सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धा गर्दैछन्।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोजलाई विमलेन्द्र निधि र शेखर कोइरालाको समर्थन छ। सभापतिका अर्का उम्मेदवार कृष्णा यादव कांग्रेस सभापति शेरबहादुर देउवा समर्थक मानिन्छन्। उनको पक्ष बलियो बनाउन गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँड मंगलबार राती जनकपुर आइपुगेका छन्।

कांग्रेसको विधान अनुसार अधिवेशनबाट ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समिति निर्वाचित हुनेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट) र विनोद खनाल (सर्लाही) छन्। महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही) छन्। सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन्।

अर्का सभापति कृष्णा यादवको प्यानलमा उपसभापतिमा वीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा), महामन्त्रीमा उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन्। सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रीता यादव (सप्तरी) छन्।

१ बजेदेखि मतदान

संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ६ बजेदेखि साढे सात बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ता गर्ने समय दिइएको छ। विहान ८ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।

दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

प्रकाशित: ७ पुस २०७८ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App