२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभाको आइतबारको बैठक प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका कारण अघि बढ्न सकेन। बैठक अघि नबढेपछि अर्को बैठक अनिश्चित कालका लागि स्थगित भएको छ।

अवरोधका कारण सोमबार बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको भयो। कार्यसूचीमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/७७ र ०७७ र ०७८ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने विषय थियो। प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडु प्रतिवेदन पेश गर्ने तयारी गर्दै बैठकभरि बसिरहेका थिए।

बैठकको सुरु हुनबित्तिकै एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि एमाले सांसद देवेन्द्र दाहालले आफ्नो भनाई राखेका थिए। उनले एमालेले दसौं अधिवेशनमा उठाएका मुद्दा यथावत रहेकाले संसद् अवरुद्ध गर्नुपरेको बताए। उनले भने, ‘हामीले उठाएका माग न त सरकारले सुनेको छ, नत प्रतिनिधिसभाका सभामुखले सुनेका छन्।’ उनले भने, ‘सुनेको नसुनी गर्ने, समय गुजार्ने मात्रै भएको छ।’ उनले भने ‘सर्वदलीय बैठक भनेर नाटक मात्रै हुन्छ।

वर्तमान परमादेश सरकार गठन भएपछि विकास निर्माण ठप्प भएको छ। विकास खर्च हुन नसक्दा वा आर्थिक गतिविधि नहुँदा बैंकहरूमा पैसाको चरम अभाव हुन थालेको छ।’ पैसाको अभावले ऋण प्रवाह हुन नसक्दा व्यवसायी मारमा परेको उनले बताए।

हिजो भ्रष्टाचार बढ्यो भनेर चिच्च्याइ रहनेहरू आज कुन कुनामा बसे, मलाई अचम्म लागेको छ भन्दै उनले सरकारको विरोध गरे। हिजो नियोजित प्रचारबाजी मात्र रहेछ भन्ने उल्लेख गर्दै उनले भने, ‘त्यतिबेला तीव्र ढंगले विकास निर्माणका कामहरूमा जनताको ध्यान नजाओस् भनेर अन्यत्र ध्यान मोड्नका लागि ती कुराहरू उठाएका रहेछन्।

किनभने आज सबै ठाउँमा पैसा वा घुस नखुवाइकन कुनै पनि काम नहुने अवस्था छ। यस्तो अवस्थामा यो सरकार प्रमुख प्रतिपक्षी दलसँग बसेर किन वार्ता गर्दैन। किन अन्य नाटकहरू गरिरहेको छ। त्यसकारण यी प्रश्नको जवाफ नआउन्जेसम्म संसद् अवरुद्ध हुन्छ।’

प्रकाशित: ६ पुस २०७८ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App