५ वैशाख २०८१ बुधबार
राजनीति

दाहाल ३२ वर्षदेखि नेतृत्वमा

पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।

माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।

२०४६ सालमा नेकपा (मसाल) को महामन्त्री,२०४८ मा नेकपा (एकता–केन्द्र) को महामन्त्री, २०५१ मा नेकपा (माओवादी) को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्।

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको सबै अधिकार आफूमा केन्द्रित गरेका दाहालले २०६५ मा वैद्य र भट्टराईलाई उपाध्यक्ष तथा थापालाई महासचिव बनाएर माओवादीलाई बहुपदीय प्रणालीमा लगे पनि त्यो बीचमै तुहिएको थियो।

त्यसैले अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ। माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू(अध्यक्ष) मा केन्द्रित गरेका थिए।

‘अहिले पनि मूल नेतृत्व (दाहाल) लाई चुनौति दिने अवस्था छैन, बाँकी पदाधिकारी कोको हुने भन्ने प्रतिस्पर्धा होला तर त्यो पनि सहमतिमै टुंगिन्छ’, माओवादीका एक नेताले भने। माओवादीभित्र धेरै नेताहरू दाहालको उत्तराधिकारीका रुपमा आएको भए पनि पार्टी विभाजन भएपछि भने दाहालमात्रै त्यसको हकदार देखिएका छन्।

पार्टी विभाजन हुनुअघि वैद्य,भट्टराई, गजुरेल र थापाले नेतृत्वमा दाबी गरेका थिए। तर उनीहरूले पार्टी छाडेपछि संगठन सुदृढ गर्ने भन्दै दाहालको विकल्प नखोजिएको नेताहरूले बताएका छन्। एकता केन्द्रबाट माओवादीमा आएका नारायणकाजी श्रेष्ठ अहिले भैरहेका नेताहरूभन्दा वरिष्ठ भए पनि उनलाई मूल नेतृत्व दिने पक्षमा कोही छैनन्।

माओवादी नेताहरूमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र देव गुरुङ नेतृत्वका लागि नयाँ अनुहार भए पनि उनीहरू अध्यक्षबाहेकका पदमात्रै दाबी गर्ने अवस्थामा छन्। बहुपदीय संरचनामा गएपछि श्रेष्ठलगायतका केही नेता उपाध्यक्ष रहने, पुन, शर्मा, बस्नेत, गजुरेललगायतले महासचिव दाबी गर्ने अवस्था छ।

पुन लामो समयदेखि बिरामी भएर हाल चीनमा उपचार गराइरहेका छन्। यसैकारण उनी अहिले महासचिव दाबी गर्ने अवस्थामा नभएकाले शर्मा, गजुरेल र बस्नेतले सो पदमा दाबी गर्ने सम्भावना छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल भने संसदीय राजनीतिमा प्रवेश गर्दाको अवस्था र त्यसअघिको अवस्थालाई छुट्टैरुपमा लिनुपर्ने बताउँछन्। ‘२०४६ सालमा प्रचण्ड (दाहाल) ले नेतृत्व लिए पनि २०६२/०६३ को आन्दोलनपछिको अवस्थालाई मात्रै गणना गर्दा राम्रो हुन्छ, त्यति बेला एउटा मिसन बोकेर आन्दोलनमा होमिएको थियो।

अहिले त्यो मिसनभन्दा बाहिर रहेकाले २०४६ देखिको नेतृत्वलाई एउटा चरण र २०६२ सालपछिको अवस्थालाई अर्को चरणमा हेर्नुपर्छ’, पोखरेलले भने। उनका अनुसार माओवादी भनेको दाहाल र दाहाल भनेको माओवादी भन्ने ‘ब्रान्ड’ भएकै कारण मूल नेतृत्वका लागि छलफल हुन नसकेको हो। ‘जसरी २०४६ सालपछि एमालेका नेताहरू आफैं नयाँ लिडरका रुपमा आए, त्यसैगरी माओवादी नेताहरू पनि २०६३ सालपछि नयाँ लिडरको रुपमा आए।

त्यहाँ पनि नेतृत्वमा पुग्नसक्ने राष्ट्रिय नेताहरू थिए र छन् पनि। तर अहिलेको हकमा उहाँहरू देखिनुभएको छैन। योभन्दा अर्को पटक हुने राष्ट्रिय सम्मेलनमा यसको बहस हुन्छ जस्तो मलाई लाग्छ’, पोखरेलले भने।

राजनीतिक विश्लेषक पोखरेलका अनुसार माओवादी युद्धबाट आएको पार्टी भएकाले तत्कालै उसको नेतृत्व परिवर्तनतर्फ कोही पनि नलागेको र अरु दाहालको छायामा परेका हुन्। तर अहिले माओवादी केन्द्रमा रहेका नेताहरू राष्ट्रियस्तरमै प्रभाव जमाउने भएका कारण नेतृत्व लिन सक्षम भएको उनले बताए।

‘माओवादीकै उत्पादन हुन् रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी। उनीहरू अहिले पार्टीबाहिर छन्। माओवादभित्र पम्फा भुसाल,जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेललगायतका धेरै नेता हुनुहुन्छ। उहाँहरू नेतृत्वका लागि सक्षम हुनुहुन्छ।

तर अहिले उहाँहरूले नेतृत्वको कुरा उठाउनुभएको छैन’, पोखरेलले भने। माओवादीभित्र दाहाललाई आन्दोलनमा सफल भएको नेताको रुपमा लिने गरिन्छ। तर नेतृत्व विकासमा भने उनी कमजोर भएको टिप्पणी गरिन्छ। नेतृत्व विकासमा कमजोर भएकै कारण नेत्रविक्रम चन्दलगायतका नेताहरू पार्टीबाट बाहिरिएको बुझाइ माओवादी नेताहरूको छ।

पुसमा हुने राष्ट्रिय सम्मेलनबाट चन्दलाई पार्टीमा ल्याउन कसरत पनि भैरहेको छ। ‘चन्दलाई महासचिव दिएर भए पनि पार्टीमा ल्याउनुपर्छ भन्ने बहस चलेको छ। यो नेतृत्व विकासको चरण पनि हो’,दाहाल र चन्दबीच सम्पर्कसूत्रको काम गरिरहेका एक नेताले भने।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै पार्टीमा वैद्यले दाहाललाई चुनौती दिएका भए पनि त्यसमा उनी सफल भएनन्। पार्टीको विचार र कार्यदिशालाई लिएर २०६५ मंसिरमा वैद्यले खरिपाटी भेला (विस्तारित बैठक) मा समानान्तर दस्तावेज पेस गरेका थिए। पहिलोपटक वैद्यले समानान्तर दस्तावेज पेस गरेर नेतृत्वलाई चुनौती दिएपछि थापाले दाहाललाई सहयोग गरेका थिए।

थापाको सहयोगमा दाहाल अल्पमतमा पर्नबाट जोगिएका थिए। पार्टीभित्र आफू असुरक्षित भएको महसुस भएपछि दाहालले श्रेष्ठको पार्टी एकता केन्द्रसँग एकता गरेका थिए। त्यसपछि वैद्य,भट्टराई, थापा र चन्द पार्टीबाट बाहिरिएका थिए। उनीहरू बाहिरिएपछि दाहाललाई नेतृत्वमा टिकिरहन सहज भएको हो।

२०६९ माघमा माओवादीले हेटौंडामा सातौं राष्ट्रिय सम्मेलन गरेको थियो। सो सम्मेलनबाट पनि दाहाल नै अध्यक्ष भए। २०७१ सालमा पुनः विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले पनि दाहाललाई नै नेतृत्वमा निरन्तरता दियो। त्यसयता पनि निरन्तर दाहाल अध्यक्ष छन्। ‘मूल नेतृत्वको विषयमा कसैले पनि चुनौती दिने अवस्था छैन। यसबारे हामी पार्टीभित्र एकमत छौं’,केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। उनका अनुसार मूल नेतृत्व परिवर्तन गर्ने विषयमा कहीं कतै छलफल भएको छैन।

प्रकाशित: २२ मंसिर २०७८ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App