१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बहुपक्षीय मञ्चमा नेपालको समर्थन खोज्दै इजरायल

पुरानो दौत्य सम्बन्ध रहे पनि बहुपक्षीय मञ्चमा नेपालले आफ्नो मुलुकलाई साथ नदिएको गुनासो काठमाडौंस्थित इजरायली राजदूत खनान गोडेरले गरेका छन्।

यही बुधबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा इजरायलसम्बन्धी विभिन्न प्रस्तावमा छलफल तथा मतदान हुने तयारी भइरहेका बेला राजदूत गोडेरले नेपालले यसअघिभन्दा फरक मत दिएर इजरायलको पक्षमा अभिमत दिने आशा पनि गरेका छन्। ‘दुई देशबीच ६१ वर्ष पुरानो र गहिरो सम्बन्ध छ। द्विपक्षीय सम्बन्ध बहुआयामिक छ। तर बहुपक्षीय फोरममा नेपालले इजरायलको पक्षमा मत प्रकट नगर्दा हामी दुखी छौं,’ उनले भने।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलसम्बन्धी २४ वटा प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा छन्। नेपालले प्रस्तावअनुसार कुनैमा समर्थन र कुनैमा विपक्षमा मत दिने गरेको उनले बताइन्।

इजरायल पुरानो मित्र राष्ट्र भएर पनि नेपालले समर्थन नगरेको राजदूत गोडेरले बताए। नेपालले इजरायललाई समर्थन गर्न नसके मित्र मुलुक सम्झेर मतदानमा अनुपस्थितमात्र हुँदा पनि आफ्नो मुलुकलाई ठूलो सहयोग हुने उनको भनाइ छ।‘इजरायलले नेपाललाई सैनिक सहयोग गरेको छ, इजरायल गएर हजारौं नेपालीले कृषि तथा अन्य सीप विकासका क्षेत्रमा अल्पकालीन तालिम प्राप्त गरेका छन्।

अर्काे महिना १ हजारभन्दा बढी नेपाली केयर गिभरका रूपमा इजरायल जाँदैछन्,’ उनले नागरिकसँगको कुराकानीका क्रममा भने। नेपाल र इजरायलबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउँदै उनले भने, ‘नेपाल र इजरायल दुवै साना देश हुन् र ठूला देशका बीचमा छन्। यो हिसाबले दुवै देशका चुनौती समान छन्।’

विश्वको सबैभन्दा अग्लो चुचुरो नेपालमा रहेको र होचो स्थान इजरायलको मृत सागर (डेड सी) मा रहेको बताउँदै उनले भने, ‘डेड सीबाट ल्याएका दुई ढुंगा सगरमाथा क्षेत्रको कालापत्थरमा राखिएको छ। यो पर्यटकका लागि आकर्षणको विषय बनेको छ।’ उनले आगामी वर्षहरूमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।

सन् १९४८ मा स्थापना भएको मध्य पूर्वी देश इजरायलले ७ दशकमा आर्थिक तथा प्रवधिको विकासमार्फत आफूलाई समृद्ध राष्ट्रको रूपमा प्रस्तुत गरेको छ। विश्व बैँकका अनुसार सन् २०२० मा इजरायलीको आम्दानी प्रतिव्यक्ति ४३ हजार अमेरिकी डलरभन्दा बढी थियो। मेडिटेरियन समुद्र तटमा रहेको यो देशमा यहुदी,क्रिस्चियन तथा स्लाम धर्मावलम्बीका लागि पवित्र स्थल छन्।

राजदूत गोडेरले राष्ट्रसंघको महासभामा इजरायल विरूद्ध विभिन्न प्रस्तावहरूको पक्षमा नेपालले मतदान गरेको बताए। महासभामा हरेक वर्ष मध्यपूर्वमा शान्ति तथा इजरायलको विषयमा छलफल तथा मतदान हुँदै आएको छ।

गोडेरले नेपालसँग इजरायलको द्विपक्षीय सम्बन्ध सुमधुर हुँदाहुँदै पनि बहुपक्षीय सम्बन्धको विषय जटिल रहेको बताए। उनले इरानको मानव अधिकारसम्बन्धी विषय, सिरियन गोलानको विषय, लेबनानको किनारामा तेल चुहेका कारण इजरायलले क्षतिपूर्ति दिने विषयमा नेपालको समर्थन रहेको बताए।

‘तर विस्तारै हामीलाई हेर्ने विश्व दृष्टिकोणमा परिवर्तन हुँदैछ। आशा छ, आगामी दिनमा नेपालले हामीलाई बुझ्नेछ’, उनले भने। टेम्पल माउन्टको विषयमा भारतले समेत समर्थन नगरेको प्रस्तावमा नेपालको समर्थन रहनुमा उनले आश्चय प्रकट गरे। ‘हामीले नेपाल सरकारसँग यो विषयमा हरेक वर्ष कुरा गरेका छौं। इजरायलजस्तो घनिष्ठ सम्बन्ध भएको देशविरुद्ध नेपालले कसरी भोट गर्न सक्छ। आशा छ, यो स्थितिमा अब सुधार आउने छ, नेपाल एकपक्षीय हुन सक्दैन,’ उनले भने। 

स्थापनाकालदेखि नै इजरायलको प्यालेस्टाइन र अन्य अरब राष्ट्रसँग विवाद र द्वन्द्व छ। समय समयमा भएका लडाइँका कारण ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ। विशेषगरी वेष्ट वेक, गाजा क्षेत्र र पूर्वी जेरुसलमको आधिपत्यताको विषयमा विवाद रहँदै आएको छ।

नेपाल र इजरायलबीच सन् १९६० जुनमा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपालमा १९६१ को मार्चमा इजरायली राजदूतावास स्थापना भएको थियो। इजरायलको अस्तित्वलाई स्वीकार गर्नेमा दक्षिण एसियाको पहिलो राष्ट्र नेपाल हो। नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० र १९६३ मा राजा महेन्द्रले इजरायल भ्रमण गरेका थिए।

पहिलो विश्व युद्धमा बेलायतले मध्यपूर्वमा अटोमान साम्राज्यलाई पराजित गरेपछि प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रण लिएको थियो। त्यतिबेला उक्त क्षेत्रमा अल्पसंख्यक यहुदी र बहुसंख्यक अरबहरूको बसोबास थियो। यी दुवै समुदायले यो जमिनमा आफ्नो अधिकार रहेको दाबी गर्दै आएकोमा सन् १९४८ मा यहुदी नेताहरूले इजरायल राष्ट्रको स्थापना भएको घोषणा गरेका थिए। तर यो घोषणाको प्यालेस्टाइनीहरूले विरोध गर्दै आएका छन्। यी दुई पक्षबीच समय समयमा युद्ध हुने गरेको छ।  

राजदूत गोडेरले कृषि, शिक्षा तथा प्रविधिको क्षेत्रमा नेपाललाई इजरायलले सहयोग गर्दै आएको बताउँदै सन् २०१५ मा पनि भूकम्पपीडितको उद्धारका लागि सक्दो मानवीय सहयोग गरेको बताए। हरेक वर्ष सयौंं इजरायलीले नेपाल भ्रमण गर्छन्। ‘इजरायल र नेपालबीच जनस्तरमा अत्यन्त गहन सम्बन्ध छ। आगामी वर्षरूमा यो सम्बन्ध झन् प्रगाढ हुनेछ। अत्यन्त सुन्दर द्विपक्षीय सम्बन्ध अब बहुपक्षीय सम्बन्धमा पनि मुखरित हुनुपर्छ,’उनले भने।

नेपालले कूटनीतिक परिपक्वता नदेखाउँदा विस्तारै पुराना मित्रहरू यहाँ आफ्ना नियोग बन्द गर्ने स्थितिमा पुगेका छन्। नेपालले बहुपक्षीय मञ्चमा इजरायललाई महत्व नदिने हो भने यहाँ नियोग राख्नुपर्ने अवस्था नरहने कूटनीतिक क्षेत्रका जानकार बताउँछन्। नेपालसँग पुरानो सम्बन्ध भएको र प्रजातन्त्र तथा मानव अधिकारको पक्षमा योगदान गर्दै आएको युरोपेली मुलुक डेनमार्कले केहीअघि आफ्नो नियोग बन्द गरेको थियो।

प्रकाशित: २० मंसिर २०७८ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App