नेपाली काँग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले आफूलाई प्रदेश सभापतिको उम्मेदवारको रुपमा घोषणा गरेका छन्। पहिलेदेखि नै प्रदेश सभापतिको आकांक्षी रहेका यादवले प्रदेश अधिवेशनको समय नजिकिँदै जाँदा आफूलाई प्रदेश सभापतिको उम्मेदवारको रुपमा घोषणा गरेका हुन्।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट आफू सर्वसम्मत उम्मेदवार रहेको यादवको दाबी छ। अन्य पक्षलाई पनि आफूले समेट्ने प्रयास गरिरहेको नेता यादवको भनाइ छ।
प्रदेश दुईमा संस्थापन पक्ष र विमलेन्द्र निधि पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि निधि पक्षबाट प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा रहेका रामसरोज यादवले आफूलाई प्रदेश सभापतिको रुपमा उम्मेदवार रहेको घोषणा गरिसकेका छन्।
दुवै उम्मेदवारले आफूलाई अधिकांश जिल्लाका सभापतिहरुको समर्थन रहेको दाबी गरेका छन्।
दुई कार्यकाल रौतहटको सभापति रहेका कृष्णप्रसाद यादवले महोत्तरी सभापति महेन्द्र यादव, सप्तरीका सभापति दिनेश यादवसहित अन्य जिल्लाका नेता तथा कार्यकर्ताको सहमतिको आधारमा प्रदेश सभापतिको उम्मेदवार बन्न लागेको बताएका छन्।
प्रकाशित: १८ मंसिर २०७८ १३:४२ शनिबार