१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीमा देउवा पक्षका शाह, पौडेल पक्षका पुनबीच कडा टक्कर

नेपाली काँग्रेसको प्रदेश महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्वका लागि संस्थापन पक्षका भरतकुमार शाह र संस्थापन इतरबाट अमर पुनले आ–आफनो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।

देउवा प्यानलबाट लुम्बिनी प्रदेश सभापतीमा उम्मेदवारी दिएका शाह प्रतिनिधिसभा सांसद हुन्। सार्वजनिक लेखा समितिका सभापति र पूर्वराज्य मन्त्री भइसकेका शाह रुपन्देहीका हुन्। पौडेल पक्षबाट प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका पुन रोल्पाको निर्वतमान पार्टी सभापति हुन्। संविधान सभा सदस्य र पूर्वराज्य मन्त्री भइसकेका पुन रोल्पाका हुन्।

संस्थापन पक्षका शाहको प्यानलबाट उपसभापतिमा कपिलबस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनालले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले दर्ता गराएका छन्। सहमहामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाहले उम्मेदवारी दिएका छन्।

संस्थापन इतर समूहका पुनको प्यानलबाट उपसभापतिमा रुपन्देहीका अष्टभूजा पाठक र गुल्मीका भुवन श्रेष्ठले उम्मेदवारी दिएका छन्। पाठक प्रदेश सांसद हुन्, श्रेष्ठ गुल्मीको निर्वतमान पार्टी सभापति हुन्। महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु खनाल मुस्कान र महिलातर्फ प्यूठानकी नीमा गिरीले उम्मेदवारी दिएका छन्।

८ पदाधिकारीका लागि १६ जना र ६९ सदस्यीय प्रदेश कार्यसमितिका लागि १३८ जना र सदस्यमा २ जना स्वतन्त्र गरी जम्मा १५६ जनाको उम्मेदवारी परेको लुम्बिनी प्रदेश निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले बताए। प्रदेश सदस्यमा अर्घाखाँचीकी सावित्रा बेलवासे र नवलपरासीका ऋषिराम पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले जानकारी दिए।

प्रदेश सभापतिका लागि  नेता शाह र पुनले आ– आफनो जित सुनिश्चित भएको दावी गर्दै बिभिन्न एजेण्डासहित मत मागिरहेका छन्। संस्थापन पक्षका सभापतिका उम्मेदवार शाहले आफूले सबै पक्षलाइ समेटेर पार्टीलाई अझ बलियो र एकताबद्ध गराएर लैजान सक्ने भएकाले त्यसको मूल्यांकन हुने र जित सुनिश्चित रहेको दावी गरे।

संस्थापनइतर समूहका पुनले सबै जातजाती, भुगोल समेटेर पार्टीलाइ अझ बलियो र गतीसिल बनाउँदै आम निर्वाचनमा काँग्रेसलाई प्रदेशभरी नै बिजयी बनाउने एजेण्डा बोकेकाले प्रतिनिधिहरुले सही मूल्याङ्कन  गर्दै आफनो टिमलाई नै विजयी गराउने दाबी गरे।

लुम्बिनी प्रदेशमा तुलनात्मक रुपमा पौडेल पक्ष बलियो देखिन्छ। प्रदेशका १२ जिल्लामध्ये ९ वटामा जिल्ला सभापति पौडेल पक्षले जितेको छ।

पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा जिल्ला सभापति पौडेल पक्षले जितेको हो। रुपन्देही र बर्दियामा देउवा पक्षले सभापति जितेको हो। बाँकेमा जिल्ला अधिवेशन हुन सकेको छैन। बाँके संस्थापन पक्ष बलियो रहेको जिल्ला हो।

प्र्रदेशमा पौडेल पक्ष बलियो देखिए पनि शाह र पुनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

लुम्बिनीमा महाधिवेशन प्रतिनिधि ६९५ प्रदेश प्रतिनिधि, ९४१ महाधिवेशन प्रतिनिधि र १२ जना भ्रातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधि गरी १ हजार ६४८ मतदाता छन्। भैरहवाको महेन्द्र सभागृहमा जारी अधिवेशनमा शनिबार बिहान साढे ८ बजेदेखि मतदान सुरु हुनेछ।

प्रकाशित: १७ मंसिर २०७८ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App