१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनः खाँण र गिरीबीच ‘बिरासत’ हाँक्ने लडाइँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।

संस्थापन समूह भरतकुमार शाहको नेतृत्वमा चुनावी मैदानमा छ भने ईतर समूह अमरसिंह पुनको नेतृत्वमा प्रतिष्पर्धामा उत्रिएको छ। यि दुबै समूहले शुक्रबार उम्मेदवारी दर्ता गरिसकेका छन्।

पहिलो पटक पार्टी संरचनामा संघीयता कार्यान्वयन गर्न थालेको कांग्रेसभित्र प्रदेश स्तरमा दुई समूहका लागि पकड जमाउने अवसर बनिदिएको छ। फलतः संस्थापन र ईतर समूह प्रदेशमा आफ्नो बलियो ‘जग’ स्थापित गर्न चाहन्छन्। प्रदेश महाधिवेशन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र ईतर समूहका रामचन्द्र पौडेल पक्षबीच ‘बिरासत’ को लडाइँ बन्न पुगेको छ।

देउवा र पौडेलबीचको यो लडाइँबाट प्रदेश स्तरमा दुई नेतालाई व्यक्तिगत ‘बिरासत’ कायम गर्ने अवसर पनि मिल्ने छ। यि दुई नेता कांग्रेसका प्रमुख सचेतक तथा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री दीपक गिरी हुन्।

बुटवलका खाँणले प्रदेशमा आफूलाई एकल नेताका रुपमा स्थापित गर्न चाहिरहेका छन् भने दाङका गिरीले संस्थापन समुहको नेतृत्वलाई जीत दिलाएर प्रदेश राजनीतिको ‘कमाण्ड’ हत्याउने योजना बनाईरहेका छन्। फलतः शनिबार हुने प्रदेश महाधिवेशन गृहमन्त्री खाँण र पूर्व मन्त्री गिरीबीचको ‘बिरासत’ को लडाइँ बन्दैछ।

पूर्व सिँचाइ मन्त्री गिरीले प्रदेश महाधिवेशनमा संस्थापन संस्थापन ईतर समूहलाई जित दिलाउने अभियानको नेतृत्व लिईरहेका छन्। उनीसंगै चन्द्र भण्डारी र राष्ट्रियसभाका कांग्रेस प्रमुख सचेतक अनिता देवकोटा पनि छन्। तर उम्मेदवारी चयनदेखि चुनावी तयारीमा बढी सकृय गिरी नै छन्। ‘संस्थापन ईतर समूहको चुनावी नेतृत्व दीपक गिरीले नै लिनु भएको छ,’ यो समूहका एक नेताले भने, ‘फलतः यसको जस उहाँ गिरीलाई नै बढी जाने छ।’

पार्टीको केन्द्रीय सहमहामन्त्रीका आकांक्षी गिरीले यो आकांक्षालाई साकार पार्न पनि प्रदेशमा आफ्नो बर्चश्व कायम गर्न ठूलो कसरत गरिरहेका छन्। यो प्रदेशमा संस्थापन समूहको उम्मेदवारी चयनको जिम्मा पाएका गिरीले जिम्मेवारीलाई जीतमा बदलेर आफूलाई प्रदेशको अब्बल नेताको परिचय दिलाउन खोजिरहेका छन्।

‘स्वाभाविकै रुपमा पूर्व सिँचाइ मन्त्री समेत भैसकेका र कांग्रेस राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमता भएका गिरीका लागि प्रदेशको जीतले उहाँलाई प्रदेशको अब्बल नेताका रुपमा थप स्थापित गर्ने छ नै’,  ति नेताले भने, ‘त्यसैले आफ्नो समूहको जीतसंगै आफूलाई प्रदेशमा एकल नेताका रुपमा स्थापित गर्ने अवसर पनि उहाँका सामु छ।’

प्रदेशको महाविधेशनबाट संस्थापन समूहलाई कमजोर पारेर हाल आफूलाई प्रदेशको प्रभावशाली नेताका रुपमा उभ्याउँदै आएका खाँणलाई पछि पार्न चाहन्छन् गिरी। तर पार्टी सभापति विश्वासपात्र गृहमन्त्री खाँणले प्रदेशमा जीत दिलाएर ‘देउवा सामिप्यता’ अँझ कसिलो पार्न चाहन्छन् खाँण।

त्यसोत, देउवा विश्वासलाई साकार पारेर महामन्त्री हुने बाटो खुल्ला पार्न चाहन्छन् उनी। भलै अहिले सम्म आफूलाई महामन्त्रीका रुपमा खाँणले मुख खोलिसकेका भने छैनन्। ‘उहाँले मुख खोलिसक्नु भएको छैन, तर तयारी भने महामन्त्रीकै हो,’ उनी निकटस्थ एक नेताले भने।

हाल प्रदेशमा सबैभन्दा बढी प्रभावशाली नेताका रुपमा आफूलाई मान्दै आएका खाँणले प्रदेशको चुनावी नतिजा आफ्नो समूहको पोल्टामा पारेर यसलाई साबित गर्न चाहन्छन्। ‘प्रदेशको सिनियर त उहाँ हो नै,’ ति नेताले भने, ‘यसलाई थप प्रमाणित गर्नका लागि पनि प्रदेशमा आफ्नो समूहलाई जीताउनका लागि उहाँले ठूलै कसरत गर्नुभएको छ।’

त्यसोत, गिरीलाई कमजोर पार्नकै लागि दाङको मत तान्ने सम्मको रणनीति खाँणले बनाईसकेका छन्। उनले दाङका राजु खनाललाई प्रदेश नेतृत्वको दोस्रो बरियता उपसभापति पदको उम्मेदवार बनाएपछि दाङको मतलाई थप विभाजित बनाउन सकिन्छ भन्ने निर्णयमा पुगे। उपसभापति भिडेका खनाल खाँण निकटस्थ नेता हुन्।

दाङका गिरीलाई दाङकै मतले कमजोर पार्न सकिए नतीजा आफ्नो पोल्टामा पर्ने विश्वासमा उनी छन्। ‘दाङकै नेतालाई प्रमुख पदमा उम्मेदवार बनाएपछि स्वाभाविकै रुपमा दाङको संस्थापन ईतर समूहको मत पाउन सकिन्छ भन्ने उहाँको रणनीति नै हो,’ एक नेताले भने, ‘दाङकै मतमा कमजोर पार्न सकिए गिरीलाई असर पार्न सकिन्छ भन्ने उहाँको रणनीति हो।’

प्रकाशित: १७ मंसिर २०७८ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App