२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।

देउवा प्यानलबाट सभापतिमा प्रतिनिधिसभा सांसद रहेका भरतकुमार शाह र पौडेल पक्षबाट संविधानसभा सदस्य अमर पुन छन्। सार्वजनिक लेखा समिति सभापति समेत रहेका शाह रुपन्देहीका हुन्। रोल्पाका पुन काँग्रेसको निवर्तमान रोल्पा सभापति पुन। शाह र पुनले पदाधिकारीसहित प्यानल घोषणा गरी चुनावी प्रचारमा जुटेका हुन्।

संस्थापन पक्षका भरत शाहको प्यानलबाट उपसभापतिमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल छन्। महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी छन्। सहमहामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह छन्।

संस्थापन इतर समूहका अमर पुनको प्यानलमा उपसभापतिमा रुपन्देहीका अष्टभूजा पाठक र गुल्मीका भुवन श्रेष्ठ छन्। पाठक प्रदेश सांसद हुन भने श्रेष्ठ गुल्मीका निर्वतमान पार्टी सभापति हुन्। महामन्त्रीमा नवलपरासी पश्चिमका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य छन्। प्रदेश सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु खनाल मुस्कान र महिलातर्फ प्यूठानकी नीमा गिरी छन्।

नेता शाह र पुनले आ–आफनो जित सुनिश्चित भएको दावी गर्दै बिभिन्न एजेण्डासहित मत मागिरहेका छन्। भैरहवाको महेन्द्र सभा गृहमा मतदातासहित काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिती छ।  

लुम्बिनी प्रदेशमा तुलनात्मक रुपमा पौडेल पक्ष बलियो देखिन्छ। लुम्बिनीका १२ जिल्लामध्ये ९ वटामा जिल्ला सभापति पौडेल पक्षले जितेको छ। पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा र रुकुम पूर्वमा जिल्ला सभापति पौडेल पक्षले जितेको हो। रुपन्देही र बर्दियामा देउवा पक्षले सभापति जितेको हो।

बाँकेमा जिल्ला अधिवेशन हुन सकेको छैन। बाँके संस्थापन पक्ष बलियो रहेको जिल्ला हो। प्रदेशमा महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी १ हजार ५८५ मतदाता छन्। आज उम्मेदवारको मनोनयन दर्ता र भोलि शनिबार मतदानको निर्वाचन कार्यतालिका छ।

लुम्बिनी प्रदेशबाट सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्रीमा १ महिलासहित ३ जना चुनिनेछ। सदस्यहरुमा १२ जिल्लाबाट एक महिलासहित २४ जना, खुल्लामा ५ महिलासहित १७ जना, खस आर्य ४ महिलासहित ८ जना, आदिवासी जनजाति २ महिलासहित ५ जना, मधेसी २ महिलासहित ४ जना, दलित २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम एक महिलासहित २ जना, अल्पसंख्यक र अपाङबाट एकजना गरी पदाधिकारीसहित ७७ जना चुनिनेछन्।

प्रकाशित: १७ मंसिर २०७८ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App