१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश अधिवेशनको उद्घाटनमा नाराबाजी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा नाराबाजी भएको छ।

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको हो। आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

सोही कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताए।

समय र माग अनुसार काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विगतको समीक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताए। लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले विपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुत र कृयाशील बनाएर जानुपर्ने बताए। महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजवुत र कृयाशील बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: १६ मंसिर २०७८ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App