coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै शीर्ष नेता

नेपाली कांग्रेसका नेताहरू पार्टीको नेतृत्वमा टिक्न र पुग्न सभापतिका अन्य आकांक्षीलाई विधानसँग मेल नखाने पदको आश्वासन दिन सक्रिय भएका छन्।

पार्टीलाई विधिविधानअनुसार अघि बढाउने दाबी गर्ने दुवै पक्षका नेता नेतृत्वमा पुग्नकै लागि विधानसँग मेल नै नखाने पद देखाएर एकअर्कालाई फकाउन लागि परेका हुन्।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू एकअर्कालाई आफ्नो पक्षमा पार्न कार्यवाहक सभापति र प्रधानमन्त्रीजस्ता पदको लोभ देखाउन लागि परेका छन्।

पार्टीको आगामी महाधिवेशनबाट पनि नेतृत्वमा टिक्ने दाउमा रहेका देउवाले संस्थापन र इतर पक्षका नेतालाई महाधिवेशनपछि कार्यवाहक सभापतिको जिम्मेवारी दिने बताउँदै आएका छन्। संस्थापन इतरका नेताहरूले भने अन्य आकांक्षीलाई सभापतिको उम्मेदवार हुनबाट रोक्न आगामी आमनिर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिँदै आएका छन्।

कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा पहिलो उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था छ। उपसभापतिको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याउने उम्मेदवार स्वतः पहिलो उपसभापति बन्छ। विधानमा यस्तो व्यवस्था हुँदाहुँदै पनि देउवाले विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहलाई महाधिवेशनपछि कार्यवाहक सभापति बनाउने आश्वासन दिएको स्रोतको दाबी छ।  

देउवाले १४औं महाधिवेशनमा आफूलाई सहयोग गर्न र १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्नेगरी तयारी गर्न उपसभापति निधिलाई आग्रह गरेका थिए। निधिले १५औं महाधिवेशनसम्म नकुर्ने जनाएपछि देउवाले कोइराला र सिंहलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भन्दै सहयोग मागेको स्रोतको दाबी छ।

पूर्वमहामन्त्री सिंहलाई सभापति देउवाले भेटेर,आफन्त र निकटहरूमार्फत पनि कार्यवाहक सभापतिको प्रस्ताव गरेको स्रोतले जनाएको छ। सिंहले भने सभापतिको उम्मेदवार बन्नेगरी तयारी गरेको भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेको स्रोतको दाबी छ। ‘प्रकाश दाइ (प्रकाशमान सिंह) लाई कार्यवाहक सभापति बन्न सभापतिले प्रस्ताव गर्नुभएको हो तर उहाँले त्यसलाई अस्वीकार गर्नुभयो,’ दुवै नेतासँग राम्रो सम्बन्ध भएका एक नेताले भने।

मंसिरको पहिलो साता महामन्त्री शशांकलाई सरकारी निवास बालुवाटारमा भेटेका देउवाले उनलाई पनि सोही प्रस्ताव राखेको स्रोतको दाबी छ। उपसभापति निधिले सभापतिमा उम्मेदवारी दिने भएपछि दबाबमा परेका देउवाले आफूपछि पार्टी नेतृत्व शशांकलाई हस्तान्तरण गर्ने आश्वासन दिएको स्रोतले बतायो। आफू बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीतिमा अघि बढेको भन्दै देउवाले अब पार्टी नेतृत्व शशांकलाई हस्तान्तरण गर्न चाहेको बताएका थिए।

शशांकनिकट स्रोतले भन्यो, ‘सभापतिले मेरो उत्तराधिकारी तँ नै हो भन्नुभए पनि त्यसलाई स्वीकार गर्ने अवस्था छैन ।’ १३औं महाधिवेशनमा पनि शशांक र देउवाको अघोषित तालमेल थियो।

देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि उपसभापतिको उम्मेदवार भएर पार्टी सञ्चालनको जिम्मेवारी लिन आग्रह गर्दै आएका छन्।सिटौलाले भने सभापतिमै प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् ।

अर्कोतिर संस्थापन इतरका नेताहरू पावर सेयरिङ गरेर सभापतिका आकांक्षीलाई आफ्नो पक्षमा उभ्याउने प्रयासमा छन्।

रामचन्द्र पौडेलले आफूलाई सभापतिमा स्वीकार गर्न आग्रह गर्दै तीन तहको निर्वाचनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका छन्। संस्थापन इतरबाट सभापतिका अन्य तीन आकांक्षी महामन्त्री शशांक, पूर्वमहामन्त्री सिंह र नेता शेखर कोइरालासँगको बैठकमा पौडेलले तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका हुन्।

पौडेलले आकांक्षीमध्ये एकलाई कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्न, अर्कोलाई प्रधानमन्त्री भएर मुलुक सञ्चालन गर्न प्रस्ताव गरेका छन्। पौडेलले शेखरलाई उपसभापतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।

शेखरले त्यसलाई अस्वीकार गर्दै तीन तहको निर्वाचनपछि पौडेललाई राष्ट्रपतिको जिम्मेवारीमा पुर्‍याउने प्रस्ताव अघि सारेका छन्। महाधिवेशन भएको तीन वर्षपछि शशांकलाई पार्टीको कार्यवाहक सभापतिका रूपमा अघि सार्दै १५औं महाधिवेशनबाट उनलाई मूल नेतृत्वमा पु¥याउन सहयोग गर्ने शेखरको प्रस्ताव छ।

पूर्वमहामन्त्री सिंहलाई निर्वाचनपछि पार्टी संसदीय दलको नेतासहित प्रधानमन्त्री बनाउने शेखरको प्रस्ताव छ। सिंहले भने शेखर, शशांक र पौडेललाई सभापतिमा आफूलाई सहयोग गर्न आग्रहसहित प्रधानमन्त्री,राष्ट्रपतिसहितका पद प्रस्ताव गर्दै आएका छन्।

आफूबाहेक अर्को उम्मेदवार हुँदा देउवालाई पराजित गर्न नसक्ने जिकिर संस्थापन इतरका सबै आकांक्षीले गर्दै आएका छन्। बुधबार बिहान प्रदेशको उम्मेदवार टुंगो लगाउन महामन्त्री शशांकको निवासमा बसेको संस्थापन इतरको बैठकमा पनि सबैले आआफ्नो दाबी दोहोर्‍याएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए। ‘आज (बुधबार) विशेषगरी प्रदेशकै विषयमा छलफल भए पनि केन्द्रमा साझा उम्मेदवार बनाउने विषय पनि उठे,’ केसीले भने, ‘सबैको आआफ्नो दाबी र अडान कायमै छ। तर सहमतिको प्रयास टरिसकेको छैन।’

प्रकाशित: १६ मंसिर २०७८ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App