coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जबराले कामु नदिँदा सुनुवाइ प्रभावित

सर्वोच्च अदालतमा गोला प्रक्रियाको थालनी भएकै दिन मुद्दाको सुनुवाइ प्रभावित भएको छ। अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम नतोकेपछि सुनुवाइ प्रभावित भएको हो।

बुधबारदेखि राफल प्रणालीबाट गोला तानेर मुद्दाको पेसी तोक्ने काम सुरु भए पनि तोकिएका मुद्दा बेन्च नबसेको, हेर्न नमिल्ने र हेर्न नभ्याइनेमा राखिए।

कोरोना संक्रमणका कारण प्रधान्यायाधीश जबरा सोमबार अस्पताल भर्ना भएका छन्। तर उनले औपचारिक रुपमा कायममुकायम प्रधानन्यायाधीश नतोकेको आवाज नेपाल बार एसोसिएसनले उठाएपछि सुनुवाइ प्रभावित भएको हो।

डेढ महिनादेखि नहेरिएका मुद्दामा गोला प्रक्रिया सुरु भएपछि सुनुवाइ हुने भनिएको थियो। बुधबार गोला तानेर १० वटा इजलासमा २१७ वटा मुद्दाका पेसी तोकिएका थिए। तीमध्ये जम्मा ३ वटा मुद्दा हेरिए।

मुद्दाको सुनुवाइ हुनुअघि नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारीले सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र न्यायाधीशहरूको ध्यानाकर्षण गराएका थिए।

संविधानको धारा १२९ उपधारा ६ मा कुनै कारणले प्रधानन्यायाधीशले पदअनुसारको काम गर्न असमर्थ भएमा, बिदा बसेमा,अदालतमा उपस्थित हुन नसकेमा वरिष्ठतम न्यायाधीशलाई कायममुकायम दिने व्यवस्था भएकाले त्यसतर्फ ध्यानाकर्षण गराउनुपरेको बार अध्यक्ष श्रेष्ठले बताए।

‘प्रधानन्यायाधीश अस्पताल भर्ना हुनुभएको छ। कोरोना संक्रमण अरु रोगजस्तो होइन। आइसोलेसनमा बस्नुपर्छ। त्यस्तो स्थितिमा उहाँले अदालतको प्रशासनका काम गर्न सक्नुहुन्न’, अध्यक्ष श्रेष्ठले भने, ‘संविधानले प्रधानन्यायाधीशबिनाको न्यायपालिका कल्पना गरेको छैन। उहाँ नआउँदा कामकारबाही कसरी भयो? निकास के हुने? भन्ने कुरा राखेका थियौं।’

त्यसपछि न्यायाधीशहरू छलफलमा बस्दा पेसी तोकिएका मुद्दामा सुनुवाइ हुन सकेन। प्रधानन्यायाधीश जबरा संक्रमित भएर अस्पताल भर्ना भए पनि उनले बिरामी बिदा लिएका छैनन्। हालसम्म उनले नेपालभित्र रहेका बेला बिदा लिने नगरेको सर्वोच्च प्रशासनले जनाएको छ।

अन्य जिल्लामा पुग्दा पनि उनले दैनिक पेसी सूची प्रकाशित गर्ने गरेका थिए। उनी बिरामी भएर सोमबार बेलुकी अस्पताल भर्ना भएपछि पनि मंगलबार मुद्दाको पेसी तोकेका थिए।

त्यसैगरी नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामाको माग राख्दै घोषणा गरेको आन्दोलनअन्तर्गत एकघण्टे धर्ना कार्यक्रम जारी राखेको छ। हरेक दिन ११ देखि १२ बजेसम्म एक घण्टा धर्ना दिने कार्यक्रम यथावत् रहेको बारका अध्यक्ष श्रेष्ठले बताए।

जबरा बिरामी भएकाले सन्चो भएर अदालत नफर्कंदासम्म उनीविरुद्ध नाराजुलुस नगरी शान्तिपूर्ण धर्ना मात्र गरिने बार अध्यक्षले बताए। ‘उच्च,विशेष र जिल्ला अदालतमा गोला प्रणाली लागू नभएकाले सबै अदालतमा सुरु गर्न आह्वान गरेका छौं’, उनले भने, ‘राजीनामा नआएसम्म र गोला प्रणाली लागू नभएसम्म आन्दोलन जारी छ।’ बारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई जबराको बहिर्गमनको माग गर्दै १७ बुँदे ज्ञापनपत्र बुझाइसकेको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App