८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस प्रदेश अधिवेशनः लाइन मिलाउन दौडधुप

नेपाली कांग्रेसको मंसिर १६ देखि १८ सम्म धनगढीमा हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिदेखि सदस्यसम्मको उम्मेदवारीमा लाइन मिलाउन नेताहरुको दौडधुप चलेको छ।

सभापतिदेखि सदस्यसम्मको लाइन मिलाउन यहाँ  उम्मेदवारी दिने मनसाय बनाएकाहरु नेताहरुको कोठा चहार्न थालेका छन्। धनगढीमा आइपुगेका नेता कार्यकर्ताहरु आफ्नो जित्ने प्यानलमा आफ्नो नाम पार्नका लागि दौडधुप चलेको बताउँदै नेता नृप सुनारले भने, ‘जित्ने लाइनमा नाम पार्नका लागि इच्छुकहरुको दौडधुप चलेको छ।’

सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि कांग्रेसले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ। मन्त्री बडू धनगढी आइसकेका छन्। यस्तै धनगढीमा एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर र बद्री पाण्डे आइपुगेका छन्। यिनै नेताहरुका वरिपरि अहिले लाइन मिलाउन कार्यकताको दौडधुप चलेको हो।

जित्ने लाइनमा आफ्नो नाम समावेश गर्नका लागि बिहानदेखि नेताहरुकै भेटघाटमा रहेको बताउँदै एक उम्मेदवारले भने, ‘यहाँ त गाह्रो रहेछ, एउटालाई भेटेको थाहा पाएमा अर्को नेता रिसाउने रहेछन्, लाइन मिलाउनै सकस भयो।’ आफू देउवा गुटकै भए पनि देउवा गुटमै एनपी साउँद र रमेश लेखक गुटमा कता जाने भनेर अलमलमा परेको उनले बताए। ‘माथि एउटै गुट भए पनि प्रदेशमा दुई गुट हुँदा हामी अलमलमा परेका छौँ,’ उनले भने, ‘अब कुन गुटबाट चुनाव लड्ने र कहाँ लाइन मिलाउने भनेरै ‘कन्फ्युज’ छौं ।’  

प्रदेशको निर्वाचनका लागि उम्मेदवारी दिन नेता कार्यकर्ताको दौडधुप देख्दा आश्चर्यमा परेको बताउँदै कैलालीका युवा नेता हरि रेग्मीले भने, ‘अहिले गुटबन्दी हावी भएको छ, चाकरी गर्ने कार्यकर्ताकै कारण अहिले गुटबन्दी बढेको हो।’ काममा विश्वासभन्दा पनि चाकरी प्रथाका कारण लाइन मिलाउन अहिले धनगढीमा कांग्रेसका नेता कार्यकर्ताहरुको दौडधुप चलेको उनले बताए। चाकरीबाजले गरेको दौडधुपका कारण यहाँ नेताहरु पनि आफ्नो नजिकको मान्ने र त्यसले पार्टीलाई उधोगति तिर धकेलिरहेको उनको विश्लेषण छ।

अहिले केन्द्रीय नेताहरु बसिरहेका होटेलका आँगनभरि कार्यकर्ताहरुको भिडभाड रहेको छ। आफूलाई लाइनमा पार्नका लागि नेतालाई भेट्न जाउँ भन्दा दिनभरी लागेको बताउँदै एक नेतृले भनिन्, ‘नेतालाई भेट्नका लागि दिनभर पालो पर्खेर बसे तर पालै पाइन, बेलुकी निराश हुँदै फर्के ।’ काम गर्ने कार्यकर्ताको मूल्याङ्कन नगरेर चाकरी गर्नेहरुलाई नै नेताहरुले भेट दिएको बताउँदै उनले भनिन्, ‘यस्तै प्रवृत्तिका कारण त कार्यकर्ताहरुमा निराशा छाएको छ।’ अहिले बडू, पाण्डे, साउँद, लेखक र बलायर बस्ने होटेलमा कार्यकर्ताको लामै भिड लागेको छ।  

तयारी पूरा

बिहीबारदेखि तीन दिनसम्म हुने सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनका लागि आयोजक नेपाली कांग्रेस कैलाली शाखाले तयारी पूरा गरेको छ। धनगढीको ओम प्यालेसमा हुने अधिवेशनका लागि प्रतिनिधिका लागि आवाश र खानपिनको बन्दोवस्त गरिसकिएको १४ औँ महाधिवेशन प्रचार प्रसार समितिका कैलाली संयोजक नृप सुनारले बताए। उनले भने,‘धनगढीमा सुदूरपश्चिमभरीकै ९ सय ५५ जना प्रतिनिधिमाझ प्रदेश अधिवेशन भोलिदेखि हुँदैछ, त्यसका लागि तयारी सकिएको छ।’

भोलि दिउँसो ठीक २ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जुममार्फत् सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उनले भने,‘प्रविधिमार्फत् सभापति देउवाले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ, त्यसका लागि तयारी पूरै सकिसक्यो।’

मंसिर १६ गते दिउँसो कार्यक्रमको उद्घाटन सत्र सकिएसँगै मंसिर १७ गते मनोनयन दर्ता र १८ गतेका दिन बिहानदेखि मतदान हुने कार्यतालिका रहेको उनले बताए।

प्रकाशित: १५ मंसिर २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App