coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुटमै उम्मेदवार छान्न सकस

नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि शुक्रबार बादशाह कुर्मीले सभापति पदमा उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई साझा उम्मेदवार बनाउन हम्मेहम्मे भएको सन्देश दियो। संस्थापनबाटै सभापतिमा प्रदेशमन्त्री सुरेन्द्र हमाल, निरञ्जनसिंह सिजापति, लक्ष्मीनारायण शाह र राजकुमार बर्मा पनि आकांक्षी छन्। गुटभित्रै आकांक्षीबीच सहमति नहुँदै पूर्वसांसदसमेत रहेका कुर्मीले आफूखुसी उम्मेदवारी घोषणा गर्दा संस्थापन पक्षलाई नेतृत्वका लागि उम्मेदवार टुंग््याउन फलामको चिउरा चपाउनु जस्तै भएको छ।

संस्थापन समूहले गुटभित्रै मेलमिलापको सन्देश दिन साझा उम्मेदवारी घोषणा गर्न चाहान्थ्यो। तर, कुर्मीको उम्मेदवारीले गुटभित्रै नेतृत्वका लागि हानथाप भइरहेको सन्देश दिएको छ। सभापति पदका आकांक्षी कसैले पनि अडानबाट पछाडि नट्ँदा संस्थापन पक्षलाई सकस भएको छ। सभापतिका आकांक्षी पाँचजनामध्ये कुर्मीले पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन्। कुर्मीले आफू शेरबहादुर देउवाको उम्मेदवार रहेको दाबी गरेका थिए।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आइतबारदेखि सुरू हुने भनिए पनि आन्तरिक टीम व्यवस्थापनमा समस्या हुँदा केही पर ढकेलिएको छ।

पहिलो दिन मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको थियो। सोमबार बिहान ९ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता र साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची थियो। स्रोतका अनुसार दुवै समूहले आआफ्ना प्यानल व्यवस्थापन गर्न नसक्दा र अन्य विषयमा सहमति नजुट्दा जिल्ला अधिवेशन सारिएको हो।

निर्वाचनका लागि संस्थापतइतर समूहलार्ई पनि उम्मेदवारहरू छान्न भने सकस छ। गुटभित्र नै आकांक्षी धेरै भएपछि उम्मेदवारी छनोटमा समस्या देखिएको ती नेताले बताए।

सभापतिसहित अन्य पदका लागि सबैभन्दा धेरै संस्थापन पक्षमा देखिएका छन्। सभापतिका आकांक्षी हमालले उम्मेदवारीको विषयलाई लिएर आइतबार आफू पक्षीय नेता कार्यकर्ताहरूसँग छलफल गरेका छन्। सभापतिसहित अन्य पदहरूमा धेरैले आकांक्षा देखाएपछि कसलाई कुन पदमा उठाउने भनेर छलफल भइरहेको संस्थापन पक्षका एक नेताले जानकारी दिए। संस्थापनइतर समूहले नारायणप्रसाद गौडेललाई सभापति पदमा अगाडि सारेको छ। यो समूहभित्र अन्य पदहरूमा धेरै जनाले दाबी गर्दा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसकेको छैन। ‘सभापतिको लागि टुंगो लागिसकेको छ,’ संस्थापनइतर समूहका एक नेताले भने, ‘अन्य पदहरूमा केही समस्या देखिएको हो। आकांक्षीहरूसँग छलफल गरेर टुंगो लाग्छ।’

कर्णालीको महामन्त्रीमा कोइरालाको दाबी

नेपाली कांग्रेसको कर्णाली प्रदेश महासचिवमा सुर्खेतका युवा नेता गोविन्द कोइरालाले दाबी गरेको छन्। पार्टीलाई नयाँ प्रादेशिक संरचनालाई सही तवरले अगाडि बढाउन भन्दै उनले महामन्त्रीमा दाबी गरेका हुन्। कोइराला पञ्चायती व्यवस्थाविरूद्ध सुर्खेतको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा प्रवेश गरेका थिए।

प्रकाशित: १५ मंसिर २०७८ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App