२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेमा फेरि ओली नेतृत्वः हार्डलाइनर हावी, समन्वयकारी छायामा

चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। 

वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ।

एमाले–माओवादी एकीकरणको समयमा माओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्। लामो समयदेखि ओली समूहमा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन्।

उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन्। ओली स्वयं विरोधीप्रति कठोर हुन्छन्। शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन्।

एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो। अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्। उनले लामो समयदेखि ओलीलाई साथ दिँदै आएका छन्।

ओलीले विगतमा माओवादीको आलोचना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए। त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे। अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन्।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो। तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए।

एमाले–माओवादी एकीकरणपछि बनेको नेकपा कालमा महासचिव बनेका र अहिलेको महाधिवेशनमा महासचिवको स्वाभाविक दावेदार रहेका विष्णु पौडेललाई उपाध्यक्षमा थन्क्याएर पोखरेल महासचिव बने। नवौं महाधिवेशनबाट महासचिव बनेका ईश्वरलाई हटाएर ओलीले नेकपामा पौडेललाई महासचिव बनाएका थिए।

यसबाट चिढिएका ईश्वरसहितको एउटा समूहले पौडेललाई महासचिव हुन दिएन। चितवनमा पुग्दासम्म पौडेल महासचिवको बलियो दाबेदार थिए। तर राष्ट्रपति विद्यादेवी भण्डारीको समेत जोडबल रहेपछि पौडेल उपाध्यक्षमा रहनुपर्ने बाध्यता आयो। मतदान हुँदाको अवस्थामा दुवै पोखरेलका लागि प्रतिकूल बन्न सक्ने बुझेपछि उनीहरूलाई जसरी पनि सर्वसम्मत बनाउन ओलीले निरन्तर कोसिस गरिरहे। पौडेल पार्टी मिलाउने र पार्टीलाई एकताबद्ध बनाउने सवालमा निरन्तर समन्वय गर्ने नेताको रूपमा परिचित छन्।

उनी २०७४ सालमा एमाले–माओवादीको गठबन्धन र २०७५ जेठ ३ गते एमाले–माओवादी एकता गराउने सूत्रधारमध्येका हुन्। त्यसैगरी सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे,पृथ्वीसुब्बा गुरुङ पनि पार्टीभित्र समन्वयकारी नेताका रूपमा परिचित छन्। ओलीले उनीहरूलाई कार्यकारी तहमा ल्याउन चाहेनन्। वरिष्ठ उपाध्यक्षको दाबी गरेका नेम्वाङलाई उपाध्यक्षमा थान्को लगाइयो।

बन्द सत्रको हलमा ओलीले अनुशासन उल्लंघन गर्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए। उनले आफ्नो विरोध गर्ने वा फरक विचार राख्नेप्रति अनुशासनको डन्डा देखाएर अनुदार हुने संकेत गरेका छन्। ‘अनुशासनबिनाको पार्टी बजार हुन्छ, पार्टी हुन्न’, ओलीले भनेका थिए।

बन्द सत्रको अन्तिम दिन मंगलबार साँझ नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वरले विचार,नेतृत्व र संगठनलाई व्यवस्थित गर्दै जाने विषयमा कहीं कतै ‘कम्प्रोमाइज’ नहुने धारणा व्यक्त गरे। ‘बहुकेन्द्रित र विकेन्द्रित भएर पार्टी चल्दैन’, उनले भने, ‘हाम्रा विरुद्धमा लाग्ने जोसुकैसँग मुकाबिला गर्छौं,महाधिवेशनबाट निस्कँदा यही अठोट गर्छौं।’ यसले पनि के संकेत गरेको छ भने पार्टीमा फरक धारणा राख्न पाइनेछैन। राख्न खोज्नेलाई अनुशासनको डन्डा लगाइनेछ।

नवौं महाधिवेशनमा आफूले चाहेको जस्तो टिम नहुँदा काम गर्न पाइएन भन्दै आएका ओलीले बन्द सत्र समापनकै दिन स्थायी कमिटी र पोलिटब्युरो चाँडै नै चयन गर्ने बताएका छन्।

नवौं महाधिवेशनपछि ओलीले निकै ढिलो गरी स्थायी कमिटी गठन गरेका थिए भने पोलिटब्युरो गठन नै भएन। अहिले बनेको ३०१ सदस्यीय केन्द्रीय कमिटी ओलीले चाहेअनुसारकै भएकाले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न कुनै कठिनाइ छैन।

प्रकाशित: १५ मंसिर २०७८ ००:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App