१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसको१४औं महाधिवेशनअन्तर्गत प्रदेश र केन्द्रको महाधिवेशन कार्यतालिका फेरि संशोधन भएको छ। पटकपटक कार्यतालिका संशोधन हुँदा कांग्रेस महाधिवेशन हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गरिरहेका बेला सोमबार बसेको शीर्ष नेताहरूको बैठकले अधिवेशनको तालिकामा सामान्य हेरफेर गरेका हुन्।

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशनको मिति तय गरेको थियो।

त्यस्तै, कांग्रेसले केन्द्रीय महाधिवेशन उद्घाटनको समयलाई यथावत राख्दै निर्वाचन कार्यतालिका भने हेरफेर गरेको छ। महाधिवेशनको उद्घाटन अघि नै मंसिर २१ गते उम्मेदवारी मनोनयन गर्ने निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसलाई संशोधन गरेर कांग्रेसले मंसिर २४ गते महाधिवेशन उद्घाटन गरेर २५ गते मात्र उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ।

मंसिर २७ गते मात्र नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ। २४ गते मतदाता नामावदी प्रकाशन,२५ गते मनोनयन,२६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २७ गते ८ बजेबाट मतदान हुने भएको छ।

यसअघि कांग्रेसले २५ गते नै निर्वाचन गर्ने जनाउँदै देशभरीबाट आउने महाधिवेशन प्रतिनिधिका लागि २३ गते बेलुकाबाट मात्र काठमाडौंमा गासबासको व्यवस्था मिलाएको थियो।

१४औं महाधिवेशनअन्र्तगत बन्दसत्र नगर्ने निर्णय गरेपनि महामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन पारित गर्नुपर्ने अडान राखेका थिए। त्यससँगै मंसिर २५ गते बन्दसत्र राख्दै महामन्त्रीको प्रतिवेदन पारित गर्ने कांग्रेसले तयारी गरेको छ।

सभापतिका धेरै आकांक्षी हुँदा पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत नपाउनसक्ने आकलनसहित चार हजार महाधिवेशन प्रतिनिधिका लागि आवास समितिले यसअघि नै मंसिर २७ गतेसम्मका लागि खाने र बस्ने व्यवस्था मिलाएको छ।

४७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने कांग्रेस महाधिवेशनमा बिहानका लागि झण्डै छ हजार र साँझमा तीन हजार देखि ३५ सयसम्मले खानाखाने आँकलन गरिएको छ।

प्रकाशित: १४ मंसिर २०७८ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App