१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीको सूचीमा छुटेका प्रभावशाली नेता

एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।

उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि उनीहरू अलमलमा परेका हुन्।

एमाले महाधिवेशनमा सहमतिका नाममा विशाल भट्टराई, सुरेन्द्र मानन्धर, शिव गुरुङ,बुद्धिकुमार राजभण्डारी, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा, कृपाशुर शेर्पा केपी शर्मा ओलीले प्रस्ताव गरेका ३०१ जनाको केन्द्रीय सदस्य सूचीमा अट्न सकेनन्।

प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका भट्टराईलाई ओलीसहितका नेताहरूले प्रदेश अध्यक्ष बनाउन तयार भएको बताइएको छ। पदाधिकारीमा आकांक्षा देखाएका भट्टराईले उम्मेदवारी पनि दिएका छैनन्। नेताहरूसँगको कुराकानीपछि उनी प्रदेश अध्यक्ष बस्न तयार भएको एक नेताले बताए। उनी ओलीका समर्थक हुन्।

राजभण्डारी सोलुमा एमालेको चर्चित नेता हुन्। कांग्रेस नेता बलबहादुर केसीसँग प्रतिस्पर्धा गर्न सक्ने एक मात्र नेताका रूपमा उनी परिचित छन्। पाँचवटा महाधिवेशनमा लगातार उम्मेदवार भए पनि केन्द्रीय सदस्य हुनबाट उनी वञ्चित हुँदै आएका छन्।

शिव गुरुङ योगेश भट्टराईका समकालीन हुन्। लामो समय विद्यार्थी राजनीति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका उनी अझै केन्द्रीय कमिटीमा पर्न सकेका छैनन्।

योगेन्द्र शाही एमाले वृत्तमा बौद्धिक नेताका रूपमा परिचित छन्। विदेश मामिलामा दखल राख्ने शाही विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। विकास लम्साल, धनञ्जय दवाडी, पदम गिरी एमाले वृत्तमा निकै जुझारु नेता मानिछन्न्।

उनीहरू पार्टी राजनीतिमा प्रखर युवा नेताका रूपमा परिचित छन्। स्याङ्जाका नारायण मरासिनी पनि ओलीको सूचीमा परेनन्। प्रेस चौतारीका पूर्वअध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल पनि सूचीमा समेटिएनन्। उनीहरूले पार्टी राजनीतिमा प्रवेश गरेर विभिन्न विभागमा काम गर्दै आएका छन्।

विद्यार्थी आन्दोलनका चर्चित नेता टेकराज पछाई पनि सूचीमा छुटे। निर्माण बुढा, सुवास कर्माचार्य पनि केन्द्रीय सदस्यको सूचीमा अटाएनन्। चीनबाट हालै पिचडी गरेर आएका कल्याण रोका,युवराज खतिवडा पनि केन्द्रीय सदस्यको लाइनमा थिए। तर, उनीहरू पनि सूचीमा परेनन्। सुबोध प्याकुरेल,अरविन्द सिंह र उषाकिरण तिमिल्सिना पनि ओलीको सूचीमा नपर्दा उम्मेदवारी दर्ता गर्नुपर्ने स्थिति बन्यो।

निर्वाचन हुने अपेक्षाका साथ दसौं महाधिवेशनमा चितवन आइपुगेपछि एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका थिए। प्रदेशप्रदेशका प्रतिनिधिहरूमाझ उनीहरूले केन्द्रीय सदस्यका लागि लबिङ पनि गरिरहेका थिए।

तर,अध्यक्ष मण्डलका तर्फबाट तयार पारिएको सूचीमा उनीहरू धेरैजसोको नाम परेन। एमाले महाधिवेशनमा पदाधिकारीका लागि सर्वसम्मतिको प्रयास भइरहेका बेला केन्द्रीय सदस्यहरूले भने भटाभट उम्मेदवारी घोषणा गरेका थिए।

केन्द्रीय सदस्यका लागि आकांक्षी छुट्याइएको संख्याभन्दा दोब्बर थिए। त्यसकै परिणाम सोमबार दिउँसो सात प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका लागि ओलीले बन्दसत्र हलमा नाम प्रस्तावमा नपरेकाहरूले उम्मेदवारी दिएपछि निर्वाचन हुने निश्चित भएको थियो। गण्डकी,प्रदेश २ र लुम्बिनीबाहेक सबै प्रदेशमा थप उम्मेदवारी परेको थियो।

त्यस्तै आदिवासी जनजातितर्फ १७ जना प्रस्ताव गरिएकोमा निर्माण बुढा र सुवास कर्माचार्यले पनि उम्मेदवारी दिएका थिए। ओलीले प्रस्ताव गरेको सूचीमा अइन्द्रसुन्दर नेम्वाङ, कमलजंग राई, केशव स्थपित,खगेन्द्र राई, गोकुल घर्तीमगर, जमिन्द्रमान घले, टेकबहादुर बलम्पाकी,डम्बरसिंह सम्बाहाम्फे, अजय क्रान्ति शाक्य, दलबहादुर राना, दावा तामाङ,पासाङ शेर्पा, लिलबहादुर थापा मगर,विद्यासुन्दर शाक्य, सीपी घर्ती मगर, हरिबहादुर राजवंशी र हरिबहादुर राईको नाम छ। सम्पर्क समन्वयतर्फ महिला कोटामा कल्पना थापाको नाम हलमा प्रस्ताव भएको थियो भने जानुका रोकाले पनि सोही पदमै उम्मेदवारी दिएकी थिइन्।

मधेसीतर्फ १३ जनामध्ये हलमा नाम प्रस्ताव गरिएका बाहेक बिल्टु यादव र शम्भुप्रसाद गुप्ताले उम्मेदवारी दिएका थिए। दलितमा आठजना प्रस्ताव भएकोमा ओलीको छनोटमा नपरेका नरबहादुर विक र अनुभूति बम नेपालीले उम्मेदवारी दिएका थिए। थारूमा जयप्रकाश थारूले र मुस्लिममा नजिर मियाँले ओलीको छनोटमा परेकाहरूलाई चुनौती दिन उम्मेदवारी दिए।

पिछडिएको क्षेत्रबाट भरत साउद र लालबहादुर रावलले बागी उम्मेदवारी दिएका थिए। खुला पुरुषतर्फ ८४ जना हलमा प्रस्तावितबाहेक सुरेन्द्र मानन्धर, नरेश खरेल,कमल तिमिल्सिना,निर्मल भट्टराई,पदमराज जोशीले बागी उम्मेदवारी दिएका थिए। खुला महिलामा ५३ जना हलमा प्रस्तावितबाहेक अर्चना गहतराज, उषाकिरण तिम्सेना, भगवती न्यौपानेले उम्मेदवारी मनोनयन गरेका थिए। जसमा तिम्सेना भने सर्वसम्मत भैसकेकी छिन्।

प्रदेश १ बाट खुलामा ६ जना निर्वाचित हुनेमा आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकाबाहेक धर्मराज निरौला, पर्शुराम अधिकारी र दुर्गाकुमार थापा (स्वस्ति) ले उम्मेदवारी मनोयन गरेका थिए।

प्रदेश १ बाट हलमा प्रस्ताव भएका नाम किशोरकुमार अधिकारी,टंक आङ्बुहाङ,तिलकुमार मेन्याङ्बो, राजेन्द्रकुमार राई, वसन्तकुमार नेम्वाङ र भाष्कर काफ्ले हुन्। त्यस्तै प्रदेश १ को खुलामा ६ जनाको मात्र उम्मेदवारी परेको थियो।

वाग्मतीबाट हलमा प्रस्तावितबाहेक केदार क्षेत्री र रामवीर मानन्धरको उम्मेदवारी परेको थियो। अध्यक्ष ओलीले हलमा कृष्ण राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना मगर, सरेश नेपालको नाम प्रस्ताव गरेका थिए।

गण्डकी प्रदेशबाट हलमा प्रस्तावित नामबाहेक अरूले उम्मेदवारी दिएनन् भने सुदूरपश्चिमबाट हलमा प्रस्तावित नामबाहेक कृष्णप्रसाद जैसी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका थिए।

भट्ट यसअघि पनि केन्द्रीय सदस्य हुन्। सुदूरपश्चिमबाट हलमा प्रस्ताव गरिएका नाममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भैरवबहादुर सिंह र लीलाधर भट्ट छन्।

कर्णालीबाट पनि हलमा प्रस्तावितबाहेक योगेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए। अध्यक्ष ओलीले प्रस्ताव गरेका नाम भने गुलाबजंग शाह,धर्मराज रेग्मी, डम्बरबहादुर सिंह, नेशनल शाही, निरज आचार्य र विष्णु रिजाल हुन्। आचार्य र रिजाल यसअघि पनि केन्द्रीय सदस्य थिए।

त्यस्तै महिलामा पनि हलमा प्रस्तावित कमला वली, कमला बोहरा र सन्तोष शर्मा थापाबाहेक कलसादेवी महरा,पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएका थिए। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले आकांक्षीको संख्या धेरै रहेको तर सर्वसम्मतिको प्रयासका लागि केहीले उम्मेदवारी दिएको बताए।

सचिवका उम्मेदवार टंक कार्की पनि पार्टीमा पछि पारिएका नेता हुन्। २०३८ सालमा उनी अनेरास्ववियु अध्यक्ष हुँदा अहिलेका अध्यक्ष उम्मेदवार भीम रावल उपाध्यक्ष थिए।

प्रकाशित: १४ मंसिर २०७८ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App