७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीको अर्को इनिङ

नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुने निश्चित भएको छ। यस हिसाबले ओली दोस्रो पटक एमालेको नेतृत्वमा पुग्ने पक्का भएको छ।

उनी नवौं महाधिवेशनमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई हराउँदै अध्यक्ष बनेका थिए। नवौं महाधिवेशनमा ओलीले नेपालको भन्दा ४४ मत बढी पाएका थिए। अहिले भने ओली भारी मतान्तरले विजयी हुने सम्भावना छ।

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने ठूलो कसरत गरेका थिए। तर नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेपछि अध्यक्ष छान्न मतदानमा जानुपरेको हो। ओलीको सर्वसम्मत अध्यक्ष बन्ने कोसिसलाई रावलले अलोकतान्त्रिक भन्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

पदाधिकारीका केही पदमा निर्विरोध भए पनि १४ पदका लागि मतदान भएको छ। चितवनस्थित सौराहामा जारी बन्दसत्रअन्तर्गत सोमबार बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै निर्वाचनको कार्यक्रम अघि बढेको हो। सोमबार बिहानै अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दर्ता गराएका थिए।

ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए। यसबाट ६ उपाध्यक्षका लागि सातजना उम्मेदवार मैदानमा देखिए। उपाध्यक्षहरूमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा,विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा भएको थियो। त्यस्तै सातजना सचिवका लागि ९ जना मैदानमा छन्।

ओलीले टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए। ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि मतदान गर्नुपर्ने अवस्था आएको हो।

महाधिवेशनको बन्दसत्रमा सोमबार बिहान अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीको नाम घोषणा गरेका थिए। बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

उपाध्यक्षमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङको नाम पढेका थिए। पदाधिकारीको नाम पढेपछि अध्यक्षको दाबी गरिरहेका रावललाई बोल्न समय दिइएको थियो। रावलले अध्यक्षमा उम्मेदवारी कायमै रहेको बताएका थिए। उनले आफू निर्वाचन प्रकृयामा जान चाहेको बताएपछि हलमा रहेका केही प्रतिनिधिले होहल्ला गरेका थिए। ओलीले पढेको पदाधिकारी सूचीमा रावल, घनश्याम भुसाल र भीम आचार्यको नाम थिएन।

वरिष्ठ उपाध्यक्ष,महासचिव, उपमहासचिव सर्वसम्मत

अन्य पदमा मतदान हुँदा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल,महासचिवमा शंकर पोखरेल,उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका हुन्। यी पदमा उनीहरूको मात्रै उम्मेदवारी परेको थियो।

पण्डितले अस्वीकार गरे केन्द्रीय सदस्य

पदाधिकारीका आकांक्षी लालबाबु पण्डितले केन्द्रीय सदस्य पदमा नरहने घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान प्रस्ताव गरेको ३०१ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो। पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी हुन्।

सो पदमा ओलीले नसमेटेपछि असन्तुष्ट भई उनले केन्द्रीय सदस्यमा पनि नरहने बताएका हुन् ‘म एमालेको केन्द्रीय सदस्य रहन्नँ, साथीहरूलाई शुभकामना छ, केन्द्रीय सदस्य नरहने विषयमा पार्टी अध्यक्षलाई जानकारी गराइसकेको छु’, पण्डितले भने। उनले सोमबारबाटै कार्यकारी पदमा नरहने घोषणा गरेका छन्।

चार नेताले पाए अवकाश

विधान महाधिवेशनले तोकेअनुसार चार नेताले पार्टी जिम्मेवारीबाट बिदा लिएका छन्। उनीहरूलाई ७० वर्षे उमेरहद लगाइएको छ। अमृतकुमार बोहरा, डोरमणि पौडेल,सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डेलाई उमेर हद लागेको हो।

एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्ति पार्टीको कार्यकारी जिम्मेवारीमा बस्न पाउँदैन। ७३ वर्षीय बोहरा पार्टी अनुशासन आयोगको अध्यक्ष थिए। मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज हुन्।

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए। यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त भएका थिए। यसअघि पनि सिद्धिलाल सिंह र भरतमोहन अधिकारीले उमेरहदका कारण पार्टी जिम्मेवारीबाट अवकाश लिएका थिए।

प्रकाशित: १४ मंसिर २०७८ ००:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App