१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जेठो पार्टीकी कान्छी महाधिवेशन प्रतिनिधि

१९ वर्षको उमेर। यो उमेर अध्ययनमा केन्द्रित हुने र व्यवहारिक ज्ञान आर्जन गर्ने समय हो। तर सानैमा गह्रुंगो जिम्मेवारी पाएकी छिन् उनले। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत हजुरबुबा उमेरका नेताहरुलाई नेतृत्व छान्ने कार्यभार कलिलैमा उनको काँधमा आएको छ।

उनी अर्थात, करिना पुरी (१९)। मुलुकको जेठो पार्टी नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि संघीय महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् उनी। त्यो पनि राजनीतिमा खारिएका महिला नेतृबीच चुनावी प्रतिस्पर्धामा उत्रिएर। कांग्रेसको आन्तरिक राजनीतिमा सबैभन्दा आकर्षण र महत्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवामध्ये सम्भवत करिना सबैभन्दा कम उमेरकी हुन्।

‘यो जित कांग्रेसप्रति युवाहरुको आकर्षणको प्रतिक हो,’ महाधिवेशनमा निर्वाचित भएपछि उनले नागरिकसँग भनिन्। सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नं. २ बाट उनी निर्वाचित भएकी हुन्। जसको लागि शनिबार अधिवेशन भएको थियो। आइतबार राति अबेर अन्तिम परिणाम सार्वजनिक हुँदा उनी निर्वाचित मात्र भइनन्, लोकप्रिय मत समेत ल्याइन्। महाधिवेशन प्रतिनिधि महिला खुला पदका लागि सात जना चुनावी मैदानमा होमिएकामा उनी दोस्रो भइन्। तीन जना निर्वाचित हुने कोटामा उनले लोकप्रिय ४ सय नौ मत पाइन्। उनीसँगै निर्वाचित दुई र पराजित चार उम्मेदवार उनकी आमाभन्दा पाका उमेरका छन्। करिनाका प्रतिस्पर्धीले जिल्लामा चर्चित नेतृको पहिचान बनाएका थिए।

मेलम्ची नगरपालिका–९ ज्यामिरेकी करिना अबको कांग्रेस नेतृत्व युवाको जोस र अग्रजको अनुभवलाई समेट्न सक्ने हुनु पर्ने तर्क गर्छिन्। ‘युवा उर्जामा अग्रजको अनुभव समेटिए मात्र पार्टी बलियो बन्छ,’ विगतमा युवा जोस र उर्जालाई नेतृत्वले बेवास्ता गरेको तर्फ लक्षित गर्दै उनले भनिन्। कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा, गगन थापाबाट प्रभावित करिना पार्टीको नेतृत्व परिवर्तन गर्ने जिम्मेवारी अब युवाको काँधमा आएको बताउँछिन्। ‘१४ औँ महाधिवेशनमा अझ सशक्त भएर यही आवाज उठाउँछु,’ उनले प्रण गरिन्।

पारिवारीक राजनीतिक पृष्ठभूमिमा हुर्किएकी हुन् उनी। उनकी आमा, ठूलाबुबा र काकाहरु राजनीतिमा सक्रिय छन्। उनका बुबा युवराज पुरी सञ्चारकर्मी हुन्। परिवार राजनीतिमा लागेको र बुबा सञ्चारकर्मी भएकाले उनको घरमा धेरै राजनीतिक बहस हुन्थ्यो। यस्ता बहसले सानैदेखि उनको दिमागमा राजनीति चेत भर्दै लगेको उनी बताउँछिन्। विद्यालय जीवनदेखि नै उनको झुकाव कांग्रेसतिर भइसकेको थियो।

‘पारिवारीक राजनीतिक वातावरणमा हुर्केकी हुँ। बुबा पत्रकार भएकाले उहाँले राजनीति सम्बन्धी रिपोर्टिङ पनि गर्नु हुन्थ्यो। जिल्ला र मुकुलकको राजनीति स्थितिबारे उहाँ घरमा सुनाउनु हुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘घरमा सबै पार्टीको नीति, सिद्धान्तबारे छलफल हुन्थ्यो। यस्ता बहस सुन्ने क्रममा म कांग्रेस भइसकेछु।’

२०५९ मा जन्मेकी करिनाले गाउँकै जनता माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन्। ११ कक्षा पढ्न मेलम्चीको इन्द्रेश्वरी मावि झरेपछि उनले नेविसंघको इकाइ सभापति बनेर राजनीति यात्रा अघि बढाइन्। यो अवसर करिनाको राजनीतिमा ‘टर्निङ प्वाइन्ट’ बनेर आयो। कानुन विषयको विद्यार्थी हुन् उनी। राजधानीको नेसनल ल क्याम्पसको बीएएलएलबी चौथो समेस्टरमा उनी अध्ययनरत छिन्। उच्च शिक्षा अध्ययनको लागि राजधानी पुगेपछि राजनीतिलाई अझ गहिरोसँग बुझ्न पाएको उनी सुनाउँछिन्।

राजधानीमा नेविसंघ र पार्टीले सञ्चालन गर्ने आन्दोलन, महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लगाइएको कर विरोधी अभियान लगायत गतिविधिमा उनी निरन्तर सक्रिय रहिन्। त्यहाँ उनले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेतृत्व गरेको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत महिला प्रचार नेटवर्कको सदस्य बनेर काम गर्ने अवसर पाइन्। अहिले पनि सोही भूमिकामा रहेकी करिना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई बधाइ दिएका छन्। उनले लेखेका छन्, ‘केवल १९ वर्ष पुग्दा आज जो सिन्धुपाल्चोकबाट निर्वाचित बनेकी छन्, नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि! पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत, नेपाली कांग्रेस महिला प्रचार नेटवर्ककी सदस्य करिना पुरीलाई धेरै बधाई÷धेरै शुभकामना!’

प्रवक्ता शर्माले ‘सम्भवत कांग्रेसको कान्छी महाधिवेशन प्रतिनिधि’ भनेर टेलिफोन नै गरेर बधाई दिएको उनले जनाइन्। कराँते खेलाडीसमेत हुन् करिना। ‘ब्ल्याक बेल्ट’ धारी उनले सन् २०१९ मा इण्डोनेसियामा भएको एसियन गोजुरियो कराँते प्रतियोगितामा स्वण पदक, मलेसियामा रजत र बङ्गलादेशमा कास्य पदक जितेकी छिन्। ‘राजनीतिमा केही गर्न धेरै माथि जानु छ। यात्रा भर्खर मात्र सुरु भएको हो,’ परिपक्कपन देखाउँदै करिना भन्छिन्।

प्रकाशित: १३ मंसिर २०७८ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App