५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित

नेपाली काँग्रेस धादिङको सभापतिमा निर्वाचित रामनाथ अधिकारी।

नेपाली काँग्रेस धादिङको १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै विजयी भएका हुन्। जिल्ला अधिवेशनका लागि भएको मतदानमा अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए। अधिकारी पौडेल निकटका हुन् भने ढुंगाना देउवा निकटका हुन्।

त्यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन्। मल्लले एक हजार ६८ मत ल्याए भने अधिकारीले एक हजार ६ मत ल्याए। सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे विजयी भएका छन्। श्रेष्ठले एक हजार एक सय २१ मत ल्याए भने पाण्डेले एक हजार १२ मत ल्याए। 

सहसचिवमा नवराज तिमिल्सिनाले एक हजार ९१ मत ल्याएका छन् भने क्रान्ति डल्लाकोटी र विजयी पाख्रिनले नौ सय ९५ मत ल्याएका थिए। सहसचिव पदमा बराबरी मत आएपछि डल्लाकोटी र पाख्रिनले बराबरी मत बाड्ने सहमती गरेको छ। सहमती अनुसार पहिलो दुई वर्ष पाख्रिन सहसचिव हुनेछन् भने पछिल्लो दुई वर्ष डल्लाकोटी लाई पद हस्तान्तरण गर्ने बताइएको छ।

अधिकारी जिल्ला सभापतिमा निर्वाचित भएको यो पाँचौँ पटक हो। यसअघि २०५५ साल, २०५७ सालमा भएको पाटीको दशौँ अधिवेशन, २०६२ मा भएको एघारौँ अधिवेशन, २०६७ सालमा भएको बाह्रौँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै विजयी भएका थिए।  

यस्तो छ उनको राजनीतिक यात्रा

रामनाथ अधिकारीको जन्म धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ७ सुनौलाबजारमा  भएको हो। तीन दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन्। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन्। पन्चायति व्यवस्थाको बिरुद्ध आन्दोलनमा लागेका उनी २०४६ साल भन्दा अघि जेल तथा पटक पटक हिरासतमा समेत परेका थिए। हुँदा खाँदाको सरकारी जागिर नै छोडेर उनी राजनीतिमा होमिएका थिए।

देशमा प्रजातन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको आठौँ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा चुनिन सफल भए। त्यससंगै जिल्ला र केन्द्रमा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो। २०५३ सालमा नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका उनी दामन पाख्रिनसंग १४ भोटले पराजित भएका थिए। त्यस बेला अधिकारीले ७९ मत पाएका थिए पाख्रिनले ९३ मत पाएका थिए।

जिल्ला सभापतिमा निर्वाचित भएको १ वर्षमै २०५४ कार्तिक २६ गते पाख्रिनको निधन भएपछि काँग्रेस धादिङ नेतृत्व बिहिन बन्न पुग्यो। संसदिय चुनाव नजिकिदै गर्दा धादिङ काँग्रेस नेतृत्वविहिन भए पछि केन्द्रिय समितिले २०५५ साल बैशाखमा केन्द्रिय सदस्य दिल बहादुर घर्तीलाइ प्रतिनिधि पठाएर सर्वसहमतिमा धादिङको नेतृत्व गर्ने जिम्मा उनलाई नै दियो। त्यो संगै नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै बाकी अवधिको लागि सभापतिमा चुनिए।

२०५६ मा भएको आम निर्वाचनमा पाटी सभापतिको भुमिका निर्वाह गरिरहेका उनले धादिङमा २ नम्वर क्षेत्रबाट सांसदको टिकट पाए। तत्कालिन अवस्थामा धादिङमा ३ निर्वाचन क्षेत्र रहेको थियो। उनी सो बेला दुई पटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेद्वार गंगालाल तुलाधरलाइ हराउदै सांसद बन्न सफल भए।

त्यस लगतै २०५७ सालमा भएको पाटीको दशौँ महाधिवेशन अन्तर्गत उनी फेरी जिल्ला सभापतिको लागि प्रत्यासी रहे। त्यस बेला सभापति पदका अर्का उम्मेद्वार शिवराज अधिकारीलाइ १८ मतले पराजित गर्दै दोस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भए। २०५९ सालमा नेपाली कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक बनेको थियो। फुटकै बिचमा २०६२ मा कांग्रेसको एघारौँ अधिवेशन भएको थियो त्यस बेलापनि उनी सभापतिको प्रत्यासी रहे र अन्य २ जना प्रत्यासी बासु तिमल्सिना र रमेश धमलालाई पराजित गर्दै तेस्रो पटक पाटीको जिल्ला सभापति बन्न सफल भए।

माओवादी शान्ति प्रकृयामा आईसके पछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा धादिङ–२ मा टिकट पाए पनि उनी विजयी हुन भने सकेनन्। यसैबिचमा कांग्रेस एकिकृत भईसके पछाडि २०६७ सालमा भएको बाह्रौँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै उनी चौथो पटक जिल्ला सभापति बन्न सफल भए। त्यस बेला बासु तिमल्सिना १४ मतले उनीसंग पराजित भएका थिए।

२०७० सालमा सम्पन्न भएको दोस्रो संबिधानसभा निर्वाचनमा धादिङ २ बाट उम्मेदवार रहे पनि उनी थोरै मतान्तरले पराजित हुन पुगेका थिए। २०७२ सालमा सम्पन्न काँग्रेसको तेहौँ जिल्ला अधिवेशनमा उनकै समुहबाट रमेश धमला जिल्ला सभापति बन्न सफल भएका थिए।  

उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउँने क्षमता भएका नेताको रुपमा पनि परिचित छन्। २०७२ सालको भुकम्पमा तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि धादिङमा बेलाबेलामा चर्चा हुने गरेको छ। विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचार, कोरोना महामारीको समयमा बिरामीले बेडनै नपाएर छट्पटाई रहनु परको अवस्थामा पनि उनले त्यसको व्यावस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए। अधिकारीलाई धादिङका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ।

धादिङको शैक्षिक धरोहरको रुपमा समेत उनी परिचित छन्। नीलकण्ठ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहि सकेका उनको सो क्याम्पस स्थापनाको लागि निकै महत्वपुर्ण भुमिका रहेको छ। २०६२/६३ को जनआन्दोलन सफल बनाउनको लागि उनले खेलेको भुमिकाको अहिले पनि सबै तिर प्रशंसा हुने गरेको छ। नेपाली कांग्रेस धादिङको संगठन निमार्णमा उनले खेलेको भुमिका निकै अतुलनिय छ। कांग्रेसमै लागेको कारण पटक–पटक जेल र हिरासतमा समेत परेका उनी माओवादीले देशमा शसस्त्र युद्ध गर्दै गर्दा उनीहरुको आँखाको तारो समेत बनेका थिए। तर पनि अधिकारी आफ्नो विचार र सिद्धान्तबाट कहिल्यै विचलित भने भएनन्।

प्रकाशित: १३ मंसिर २०७८ ०५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App