१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

न्यायका लागि पुनः धर्ना

सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनअनुसार प्रहरीले एकल महिला निर्मला कुर्मी र अर्की महिला नन्कुन्नी धोबीको घटनामा अनुसन्धान नगरी पीडकलाई संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले काठमाडौँमा पुनः दोस्रो चरणको धर्ना कार्यक्रम सुरु गरेका छन्। नेपालगन्जबाट काठमाडौँ पुगेर उनीहरुले मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्।

सरकारले गठन गरेर सरकारलाई बुझाएको प्रतिवेदनअनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि महिला अधिकारकर्मी र पीडित परिवार धर्नाका लागि काठमाडौँ पुगेको महिला अधिकार मञ्चकी बाँके अध्यक्ष रुबी खानले बताइन्।

महिला अधिकार मञ्चको नेतृत्वमा एकल महिला निर्मला कुर्मी हत्याको घटना तथा घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोबीको हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन अबिलम्व सार्वजनिक गरियोस्, निर्मला कुर्मीको घटना छिटोभन्दा छिटो सुरुदेखि अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरियोस् र गृह मन्त्रालयद्वारा पठाइएको छानबिन समितिले निर्मलाको सम्पत्ती छानबिनका लागि दिएको सुझावलाई अबिलम्वन कार्यान्वयन गरी निर्मलाको सम्पत्ती प्रकरण सिआइबीसहितको छानबिन समिति अबिलम्व पठाइयोस् भन्दै उनीहरुले आन्दोलन पुनः सुरु गरेका हुन्।

न्यायका लागि कलम चलाउनुस् सरकार भन्दै अनिश्चितकालीन धर्ना बसेको धर्ना बसेकाहरु बताउँछन्। यसभन्दा उनीहरुले न्यायका लागि नेपालगन्जदेखि काठमाडौँसम्म २० दिन पैदल यात्रा गरेका थिए। त्यसपछि सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना बृद्धलाई तारेखमा राखेको छ। मुद्दामा मुख्य अभियुक्त भनिएका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद बादशाह कुर्मीलाई प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ। ‘सरकारले न्याय दिन प्रहरीलाई निर्देशनसमेत दिइसकेको छ,’ महिला अधिकार मञ्चकी बाँके अध्यक्ष रुबी खानले भनिन्, ‘सरकारले निर्देशनविपरीत प्रहरीले अनुसन्धानलाई फितलो गराएको छ।’

फर्जी कागज गराएर पीडकलाई न्याय दिने गरी प्रहरीले प्रमाण जुटाएको भन्दै उनीहरु आरोप लगाएका छन्। प्रहरीले निर्मला कुर्मीको हत्या नभइ प्राकृतिक रुपमा मृत्यु भएको भन्दै आएपछि पीडित परिवार र महिला अधिकारकर्मीहरु शसंकित हुँदै आएका छन्।

निर्मला कुर्मीलाई न्याय देऊ सरकार! के राष्ट्रिय छानबिन समितिको सिफारिस पनि बेकार भन्दै उनीहरुले शनिबार पनि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए। केही दिन अघिमात्रै अधिकारकर्मी र पीडित परिवारले प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग पत्र बुझाएका थिए। प्रमुख जिल्ला अधिकारी पनि उक्त मागसम्बन्धी गम्भीर नभएको अधिकारकर्मीहरुको भनाइ छ।

आरोपितद्वारा सभापतिमा उम्मेदवारी घोषणा

निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आरोपित भएका नेपाली कांग्रेसका पूर्व सांसद बादशाह कुर्मीले बाँके सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

प्रकाशित: १२ मंसिर २०७८ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App