७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

मंसिर १६ देखि १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको परिणामले केन्द्रको नेतृत्व चयनलाई पनि प्रभावित गर्ने बुझाइमा रहेका दुबै पक्षका नेताहरू उम्मेदवार छनोटमा सक्रिय हुन थालेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले सातै प्रदेशको सभापति र पदाधिकारी छनोटका लागि सात नेतालाई यसअघि नै जिम्मेवारी तोकिसकेको छ।

प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकीमा सुरेन्द्रराज पाण्डे, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउँदलाई देउवाले प्रदेश अधिवेशन हेर्ने जिम्मेवारी तोकेका छन्। तर, शनिबारसम्म जिल्ला तहको अधिवेशनमा सक्रिय रहेका संस्थापननिकट नेताहरू आइतबारबाट प्रदेश सभापतिसहित पदाधिकारीको टुंगो लगाउन लागिपर्ने एक नेताले जानकारी दिए।

तर, संस्थापनइतर समूहबाट अहिलेसम्म प्रदेश कार्यसमितिमा आफ्नोतर्फबाट कसलाई अघि सार्ने भन्ने गृहकार्य थालेका छैनन्। गुटहरूको महासंघ जस्तो रहेको संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार को बन्ने भन्ने टुंगो लाग्न नसक्दा पदाधिकारीसहित अन्य तहको नेतृत्वमा कसलाई अघि सार्ने भन्नेमासमेत निश्चित हुन सकेको छैन। संस्थापनइतर समूहका नेताहरूले नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालालाई उम्मेदवार टुंगो लगाउन दबाब दिइरहेका छन्।

प्रतिनिधिसभाको क्षेत्रबाट चयन हुने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा कति आयो भन्ने आंकलनमै नेताहरूसक्रिय हुँदा प्रदेश समितिको सभापतिसहित पदाधिकारीको ककसलाई अघि सार्ने निश्चित हुन सकेको छैन। यद्यपी दुबै पक्षका नेताहरूले प्रदेशको नेतृत्व लिन आकांक्षी व्यक्त गर्दै उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन्।  

संस्थापन पक्षबाट प्रदेश एकबाट अमृत अर्याल, रामहरि खतिवडा सभापतिको आकांक्षी छन्। प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको उपस्थिति मजबुत छ। सिटौला पक्षलाई प्रदेश एक र बागमती प्रदेशको नेतृत्व दिएर संस्थापन पक्षले अन्य प्रदेशमा सिटौला समूहको सहयोग लिने रणनीति बनाएको छ। संस्थापनइतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेश सभापति बन्न लागि परेका छन्। सुनसरीका निर्वतमान सभापति राजीव कोइरालाले पनि सभापतिको दाबी गर्दै आएका छन्।

प्रदेश २ मा उपसभापति विमलेन्द्र निधि हाबी हुने देखिन्छ। संस्थापन पक्षबाट विद्रोह गरेर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधि, संस्थापन पक्ष र इतर समूहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनसक्ने नेताहरूको आकलन छ। प्रदेश २ मा उपसभापति निधिले रामसरोज यादवलाई प्रदेश सभापतिमा अघि सार्ने तयारी गरेका छन्। अजय चौरासिया, कृष्ण यादवका साथै अजय द्विवेदी पनि प्रदेश दुई नेतृत्वका लागि आकांक्षी छन्।

बागमती प्रदेशबाट धादिङका निवर्तमान सभापति रमेश धमलाका साथै मधु आर्चाय, जगदिशनरसिंह केसीले प्रदेश सभापतिको दाबी गर्दै आएका छन्। संस्थापन इतर समुहको बलियो प्रदेशकारूपमा हेरियो बागमती प्रदेशको नेतृत्व लिन केन्द्रीय नेताहरू नै प्रदेश झर्नसक्ने पनि निकटको बुझाइ छ। ‘पदाधिकारीका आकांक्षी नेताहरू नै प्रदेश सभापति सुनिश्चित हुने अवस्थामा केन्द्रको पदाधिकारी आकांक्षी नेताहरू झर्न सक्छन्,’ निकट एक नेताले भने। संस्थापन पक्षका नेता ईन्द्रबहादुर बानियाँले पनि बागमती प्रदेशको सभापतिको आकांक्षी छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार शान्तिबाटीकामा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश सभापति भएर संघीयताको संस्थागत विकासका लागि काम गर्ने उनले बताए।

त्यस्तै, गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुन जोशी, कुमार खड्कासहितका नेताहरू आकांक्षी छन् भने संस्थापनइतर समूहबाट रघु पौडेल, यज्ञबहादुर थापासहितका नेताहरू आकांक्षी छन्। गण्डकी प्रदेशमा पनि संस्थापनइतर पक्ष बलियो रहेको निकटहरूको बुझाइ छ। लुम्बिनीमा देवेन्द्रराज कँडेल, भरत शाह, किशोरसिंह राठौर मध्यबाट प्रदेश सभापतिमा अघि सार्ने संस्थापन पक्षको तयारी छ। संस्थापनइतर पक्षबाट अमरसिंह पुनलाई मैदान उतार्ने आन्तरिक तयारी छ।

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट राजीवविक्रम शाह, कालीबहादुर सहकारी, ललितजंग शाहसहितका नेताहरू आकांक्षी छन् भने संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानी, भूपेन्द्रजंग शाही मध्यबाट मैदान उतार्ने इतरको तयारी छ।

सभापति शेरबहादुर देउवाको सबैभन्दा प्रभाव रहेको सुदूरपश्चिम प्रदेशमा संस्थापन इतरबाट सभापतिको आकांक्षी खासै देखिएका छैनन्। आफ्नो पक्षमा नेतृत्व आउन कम आँकलन गरेका इतर पक्षले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई अघि सार्ने उनीहरूको तयारी छ। संस्थापन पक्षबाट नरनारायण शाह, गोविन्द शाह, बहादुर थापा, पृथ्वी सिंहसहितका नेताहरू आकांक्षी छन्। तर, केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई सभापतिमा अघि सार्नसक्ने निकटहरूको दाबी छ।

प्रदेशको नेतृत्वका लागि हुने प्रतिस्पर्धामा पार्टीभित्र विद्यमान रहेका गुटहरूबीच निर्माण हुने समीकरणले केन्द्रीमा हुनसक्ने सम्भावित तालमेलको आकलन गर्न सकिने नेताहरू बताउँछन्।

प्रकाशित: १२ मंसिर २०७८ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App