४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला अधिवेशनः इलामको नेतृत्व हत्याउन फरक समीकरण

इलाममा नेपाली कांग्रेसको जिल्ला नेतृत्व चुन्न मतदान गरिँदै। तस्बिरः नागरिक

प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको इलाममा आज नेपाली कांग्रेसले जिल्ला नेतृत्व चुन्दैछ। केही दिनअघिसम्म समीकरणको चर्चा नै नभएका संस्थापन र संस्थापनइतर एक समूह जिल्ला नेतृत्व हत्याउने बेला फरक रूपमा चुनावी मैदानमा आएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

जिल्लामा वर्तमान सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा र नेताहरू भेषराज आचार्य तथा डम्बर खड्का नयाँ सभापतिका लागि चर्चाामा थिए। कर्माचार्य र आचार्य संस्थापनइतर हुन् भने खड्का र थापा संस्थापन पक्षका हुन्।

चारै आकांक्षीले जिल्ला सभापतिका लागि लामो समयदेखि तयारी गरे। त्यतिमात्र गरेनन्, प्रतिनिधिसभाका दुवै र प्रदेशसभाका दोब्बर निर्वाचन क्षेत्रमा समेत आ–आफ्नै फरक प्यानल चुनावी मैदानमा उतारे। तर, नतिजा आफूले सोचेजस्तो नभएपछि वर्तमान जिल्ला सभापति कर्माचार्य र पूर्वसभापति थापाले नयाँ जिल्ला सभापतिको उम्मेदवारी नै हापिदिए। कर्माचार्यले क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिका खुला प्रतिस्पर्धीमध्ये १० जनामा अन्तिम मत (५०३) ल्याएर विजयी भए। थापाका उम्मेदवारले क्षेत्र र पालिकामा राम्रो नतिजा ल्याउन सकेनन्। थापा ५ सय ७१ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिए।

जिल्लामा पार्टीका आन्तरिक प्रतिस्पर्धामा प्रायः पक्ष/विपक्षमा प्रस्तुत हुने कर्माचार्य र थापाले मैदान छाडिदिएपछि आचार्य र खड्काले मात्रै जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन्। वर्षाैंदेखि जिल्लामा कांग्रेसको नेतृत्व सम्हालेका कर्माचार्य र संसदीय फाँटमा समेत विजयी बनिसकेका थापाले अब कसलाई साथ दिन्छन् भन्ने धेरैको चासो थियो।

बिहीबार साँझ मनोनयन दर्ता गरिसक्दासम्म पनि कर्माचार्य र थापाले कसलाई साथ देलान् भन्ने धेरैको चासो कायमै थियो। संस्थापन पक्षकै भएपनि थापा र खड्का आपसमा ‘प्रतिस्पर्धी’कै रूपमा चिनिन्छन्। संस्थापनइतर भएपनि कर्माचार्य र आचार्य एकै प्यानलमा नरहेको यसअघि जिल्लामा भएका पार्टीका आन्तरिक प्रतिस्पर्धाले देखाउँछन्।

तर, सबैको चासो चिर्दै आज (शुक्रबार) बिहान थापा र कर्माचार्य पक्षका भनिएका सबै उम्मेदवार खड्काको प्यानलमा सार्वजनिक भए। यसअघिका प्रतिस्पर्धी ३ पक्ष (थापा, खड्का र कर्माचार्य) एक हुँदा आचार्य एक्लिएका छन्। यो समीकरण क्षेत्रीय अधिवेशनमा समेत चलेको चर्चा भएपनि मतले फरक नतिजा देखाएपछि ‘सामसुम’ थियो।

तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा राम्रो पकड जमाउन सफल भएकाले आचार्यलाई मतदाताले कमजोर चाहिँ मानेका छैनन्। ‘अरू जति पक्ष एक भएपनि यो पटक आचार्यले बाजी मार्छन्,’ उनको पक्षका एक कार्यकर्ता भन्छन्, ‘यो पटक आचार्य नै प्यानल बलियो छ।’

तर, वर्तमान सभापति रहेका कर्माचार्य, पूर्वसभापति र सांसदसमेत भइसकेका थापाको साथ रहेकाले खड्का चाहिँ दर्बिलो भएको चर्चा पनि जिल्लामा छ। ‘खड्काले लामो समयदेखि युवा कार्यकर्तामा राम्रो छाप बनाएका छन्,’ खड्का पक्षका एक नेता भन्छन्, ‘अब जिल्लाले बुढाखाडा होइन, नेतृत्वमा युवा चाहेकाले खड्काको जित हुन्छ।’

खड्का क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ सबैभन्दा बढी मत (४४९) ल्याएर विजयी बनेका हुन्। अहिले खड्काको प्यानलका दुई उपसभापति उम्मेदवारमा केदार थापा र होम दुलाल छन्। थापा कर्माचार्य र दुलाल चाहिँ पूर्वसभापति थापानिकट मानिन्छन्। दुई सचिवमा वर्तमान जिल्ला सचिव निरोज खड्गी र हुकुमलाल थेबेले उम्मेदवारी दिएका छन्। खड्गी कर्माचार्य संस्थापनइतर मानिन्छन् भने थेबे स्पष्ट खुलेका छैनन्। दुई सहसचिवमा डालकुमारी कार्की र प्रविना राईले उम्मेदवारी दिएका छन्। राई संस्थापन पक्षकी मानिन्छिन्।

आचार्यले महाधिवेशन प्रतिनिधिमा क्षेत्र २ बाट उम्मेदवारी दिएका थिए। उनले खुलातर्फ सबैभन्दा बढी (६६५) मत ल्याएर सभापतिको प्रत्यासी बनेका हुन्। अहिले आचार्यको प्यानलबाट उपसभापतिमा विष्णु दाहाल लिम्बू र खगेन्द्र देवानले उम्मेदवारी दिएका छन्। सचिवमा पूर्ण गौतम र विष्णु कार्की तथा सहसचिवमा देवेन्द्रकुमार सुवेदी र चक्र (अभिषेक) एक्तेनले उम्मेदवारी दिएका छन्।

सभापतिका उम्मेदवार आचार्यको निकट मानिएका शमशेर राईले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा सभापति जितेका छन्। क्षेत्र २ मा पनि आचार्यनिकटकै डिकेन्द्र इदिङ्गो सभापतिमा विजयी भए। प्रदेशसभा निर्वाचनका ४ क्षेत्रमध्ये संस्थापनइतरका सभापतिले ३ क्षेत्रमा जितेका छन् भने खड्कानिकट मैया लिम्बूले प्रतिनिधिसभा क्षेत्र १ (क)को सभापतिमा बाजी मारेकी छिन्।

महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रांगणमा अहिले मतदानप्रक्रिया चलिरहेको छ। वर्षाका कारण मतदानमा समस्या भएको छ। अहिले ५ बजेसम्ममा ५० प्रतिशतभन्दा केही बढी मत खसिसकेको जिल्ला निर्वाचन अधिकृत रमेश जोशीले जानकारी दिए। जिल्ला नेतृत्व चुन्ने मतदाताको संख्या १ हजार ७ सय ८६ छ।

प्रकाशित: १० मंसिर २०७८ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App