१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनको तयारी पूरा

नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ। बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए। महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेका छन्।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेले बताएको छ। सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताए। बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन्। प्रतिनिधिहरूमध्ये ६२७ जना महिला प्रतिनिधि हुनेछन्। दलित उत्पिडित क्षेत्रबाट २०९ जना प्रतिनिधि आउने छन्।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

बन्दसत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनीतिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए। ११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।

१२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ। सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए। त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए।

प्रकाशित: ९ मंसिर २०७८ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App