१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्न मेरो उम्मेदवारीः निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले काँगेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उप सभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन्। उनले नेपाली काँग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गरे।

उप सभापतिमा उम्मेदवार निधीले देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने बताए। उनले विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणले विदेशमा रहेका सबै क्षेत्र र वर्गका नेपालीहरूको हीत संरक्षणमा आफू पार्टी सभापति बनेपछि उचित पहल गर्ने पनि बताए।

उपसभापति निधीले प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने बताए। उनले देउवा र पौडेलको मार्ग निर्देशनअनुसार नै पार्टी सञ्चालन गर्ने पनि बताए।

उपसभापति निधीले भने, ‘शेरबहादुर त एकदम सर्वोच्च नेता हुनुभयो नि, मार्गदर्शक भइहाल्नु हुन्छ, शेरबहादुरजी, रामचन्द्रजी उहाँहरुलाई हामीले नेपाली काँग्रेसको सबैभन्दा सर्वोच्च पदमा, सर्वोच्च नेताको रुपमा जसरी गणेशमानजी, किसुनजीहरु हुनुहुन्छ, त्यस्तै हामी राख्छौँ। उहाँहरुले भनेअनुसार नै हामी पार्टी सञ्चालन गर्दछौँ।’

उपसभापति निधीले नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने प्रतिवद्धता जनाए। उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने वाचा गरे।

उनले सभापतिमा लड्छु भनेदेखि नै प्रदेश २ मा आफूलाई कमजोर बनाउन धेरै आक्रमण गरिएको दाबी गरे।

प्रकाशित: ९ मंसिर २०७८ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App