२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ। नेतृत्वको लागि जिल्ला सचिव सुदीपमोहन भट्टराई सहित चारजना सभापतिको दावेदारीमा छन्। भट्टराईसँगै किशोरदत्त बराल, पोषनाथ शर्मा, आईबहादुर गुरुङ पनि सभापतिका आंकाक्षी हुन्।  

कास्की कांग्रेसका हालका सभापति कृष्ण केसी दोहोरिने सार्वजनिक चर्चा चलेपनि केसीले आफु भने नदोहोरिने प्रष्ट पारेका छन् । ‘१३ औं महाधिवेशनमै मैले भोट माग्दै अर्को पटक सभापति दोहो¥याउदिन भनेको थिए,’ सभापति कृष्ण केसीले भने, ‘त्यही निर्णयमा अडिग छु । बरु प्रदेशमा उठ्छु।’ उनले आफुलाई कार्यकर्ताले सभापतिको लागि चर्चा चलाएको विषयको प्रति आभारी र सम्मान जनाउँदै आफनो उम्मेदवारी प्रदेशमा रहने प्रष्ट पारे। ‘हिजो बोलिसकेको छु। नैतिकताको रुपमा म दोहोरिन्न। सभापतिमा फेरी उठन पाए हुन्थ्यो भन्ने पनि छैन्,’ उनले भने।  

१३ औं महाधिवेशनबाट जिल्ला सचिव बनेका भट्टराई आफ्नो उम्मेदावरी सभापतिमै केन्द्रीत रहेको उल्लेख गरे। ‘तहगत प्रक्रिया पार गरेर आएकोले जिल्ला सभापतिको तयारी गरेको छु,’ सभापतिका आकांक्षी भट्टराईले भने, ‘कार्यकर्ताले पनि ठम्याईसकेका छन्। ’ उनले विगतको इतिहासमा सचिवबाटै सभापति निर्वाचित भएको इतिहास कोट्याउँदै अहिले पनि सचिवबाटै सभापति बन्ने दावी गरे।  

सभापतिको आकांक्षीमा किशोरदत्त बरालले पनि आफुलाई प्रस्तुत गरेका छन्। उनले आफु सभापतिको लागि तयारीमा जुटेको भन्दै साथीभाइ भेटघाटमा व्यस्त रहेको उल्लेख गरे। बराल कास्की निर्वाचन क्षेत्र २ मा दुईपटक सभापतिमा चुनाव लडेपनि पराजित भएका थिए। यो पटक भने जिल्ला सभापतिको लागि व्यापक तयारीमा जुटेको बरालले बताए। त्यस्तै अर्का सभापतिको प्रतिस्पर्धी पोषनाथ शर्मा हुन। शर्मा जिल्लाका पूर्व सचिव समेत हुन्। १२ औं महाधिवेशनमा जिल्ला सचिव बनेका हुन्। सभापतिकै लागि आईबहादुर गुरुङले पनि आफनो दावेदारी प्रस्तुत गर्ने सम्भावना छ। बिहीबार मनोनयन दर्तापछि मात्रै सभापतिको उम्मेदवारको टुंगो लाग्ने छ।  

यसैगरी जिल्ला सचिवमा युवा व्यवसायी सिरोजविजय कोईरालाले पत्रकार सम्मेलन नै गरेर सचिवको उम्मेदवारीको घोषणा गरिसकेका छन्। उनीसँगै युवा नेता भानु ढकाल, युवक लामिछाने, देवेन्द्र रानाभाट लगायतका युवापुस्ताले सचिवको जिम्मेवारी लिन आफनो उम्मेदवारी प्रस्तुत गर्ने सम्भावनासँगै चर्चा छ। उपसभापतिमा रामबावु भण्डारी, विजय भण्डारी, नारायण श्रेष्ठ, हरि लामिछाने, हिरा केसीको दावी रहने चर्चा छ। निर्वाचित सदस्यबाट कोषाध्यक्ष चयन गरिने कास्की निर्वाचन क्षेत्र २ (क) का निर्वाचित सभापति दिनेश आचार्यले जानकारी दिए।  

कास्की कांग्रेसका प्रवक्ता नविन सिग्देलका अनुसार जिल्ला समिति ३३ सदस्यीय बन्ने छ। २० प्रतिशत मनोनित गरिने प्र्रावधान रहेको छ। महाधिवेशनमा २१ सय प्रतिनिधि सहभागि हुने छन्। कास्की निर्वाचन क्षेत्र नं १ बाट ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधि छन्। त्यस्तै कास्की निर्वाचन क्षेत्र नं २ बाट ४ सय ९७ जना र कास्की निर्वाचन क्षेत्र नं ३ मा ७ सय ३४ क्षेत्रीय प्रतिनिधि रहेको आचार्यले बताए ।  

प्रकाशित: ८ मंसिर २०७८ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App