coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः रावलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा

नेकपा एमालेभित्र दस बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ‘आन्तरिक विद्रोह’ गर्दै आएका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एमालेको १०औं महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ।  

रावलले महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन सहयोग गर्न हालका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रहसमेत गरे। रावलले भने,‘अध्यक्ष केपी शर्मा ओलीज्यूले अब म पार्टी अध्यक्षमा दोहोरिन्नँ, अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको हो। म अध्यक्षका लागि सक्षम छु। अतः अध्यक्षज्यू तथा एमालेका अन्य नेतालाई महाधिवेशनबाट मलाई अध्यक्ष बनाउन सघाउन आग्रह गर्दछु।’

उनले आफूले कसैप्रतिको आग्रह वा पूर्वाग्रहका आधारमा उम्मेदवारी घोषणा नगरेको बताए। ‘मैले कसैप्रति आग्रह, पूर्वाग्रह राखेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हैन,’रावलले भने, ‘एमालेको सदस्य भएको हिसाबले मलाई अध्यक्षको उम्मेदवार बन्न पाउने अधिकार छ।’

एमालेभित्र अध्यक्षमा पुनः ओलीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा बाधा पुग्ने देखिएको छ। रावलले आफू अध्यक्षको उम्मेदवारबाट पछि नहट्नेसमेत बताए। अध्यक्षमा उम्मेदवारी घोषणालाई ‘बार्गेनिङ प्वाइन्ट’ बनाउन खोजिएको हो कि भन्ने पत्रकारको जिज्ञासामा रावलले भने, ‘मलाई कसैसँग कुनै पनि पदमा बार्गेनिङ गर्नु छैन,म अध्यक्षको उम्मेदवार बन्न पाउँछु।

म उम्मेदवारी दिन प्रक्रियाहरू पूरा गर्दै अगाडि बढ्छु र चुनाव लड्छु।’ रावलले आफ्नो उम्मेदवारीलाई एमालेमा विद्यमान समस्या समाधानको उचित निकासका रूपमा अथ्र्याए। नेकपा खारेजीपछि एमालेमा देखिएका समस्या समाधानका लागि अहिलेको नेतृत्व अक्षम भैसकेको दाबी गर्दै उनले पार्टीभित्र मजबुत एकता निर्माणका लागि आफूले उम्मेदवारी दिन चाहेको बताए। ‘नेकपा खारेजीपछि एमालेभित्र धेरै समस्या देखिए।

ती समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाइलाई गरिएको बेवास्ताले नेतृत्व पंक्ति समस्या समाधानका लागि अक्षम वा अनिच्छुक देखिएको प्रस्ट भैसकेको छ,’रावलले भने,‘पार्टीभित्रको यो शैलीले आन्तरिक एकता मजबुत बन्न सक्दैन। समस्या समाधान गरेर पार्टी एकतालाई मजबुत बनाउन मैले उम्मेदवारी घोषणा गरेको हुँ।’

रावलले पार्टी केन्द्रीय कार्यालयबाट आफूलाई उम्मेदवारी घोषणा गर्न नदिइएको भन्दै त्यसप्रति असन्तुष्टि पोखे। पार्टी केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न खोज्दा महासचिव विष्णु पौडेलले कुनै पनि कोठा खाली नरहेको बताएको उनले जनाए। पार्टी केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न नदिन यसो भनिएको उनको भनाइ थियो। ‘म एमालेको उपाध्यक्ष हुँ।

मैले मेरो उम्मेदवारी पनि पार्टी केन्द्रीय कार्यालयबाटै घोषणा गर्नुपथ्र्यो,’ रावलले भने, ‘तर महासचिवले महाधिवेशन तयारीका लागि सबै कोठा भरिभराउ भैसकेका छन्,ठाउँ छैन भन्नुभयो। त्यसैले म उम्मेदवारी घोषणा गर्न रिपोर्टर्स क्लब आइपुगें।’

एमालेमा एकता कायम गर्न भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावलले अध्यक्ष ओलीविरुद्ध असन्तुष्टि जनाउँदै आएका छन्। यसैकारण उनले सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकबाट राजीनामासमेत दिइसकेका छन्।

मजबुत पार्टी निर्माणका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनको विषयलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट रावलले आफ्नो उम्मेदवारी घोषणालाई पनि यसैको असन्तुष्टिको उपजका रूपमा प्रस्तुत गरेका थिए। 

अन्तरपार्टी निर्देशनलाई लत्याएर एकलौटी ढंगले पार्टी नेतृत्व अघि बढेको आरोप लगाउँदै आएका रावलले सुदूरपश्चिम प्रदेशमा निर्माण गरिएको पार्टी संरचनाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन्। ‘अन्तरपार्टी निर्देशनअनुसार पार्टी चलेन,’ उनले भने, ‘यो समग्र पार्टीका लागि हितकर देखिएन।’ सुदूरपश्चिम प्रदेशमा अध्यक्ष ओलीले रावललाई हटाएर लेखराज भट्टलाई प्रदेश संयोजक तोकेका छन्। यसप्रति रावल असन्तुष्ट छन्।

प्रकाशित: ६ मंसिर २०७८ ००:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App