४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ।

कोहलपुरमा संस्थापन इतर पक्षबाट विरेन्द्र शाह र संस्थापन(देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठबीच सभापति पदका लागि प्रतिस्पर्धा छ।

उम्मेदवार विरेन्द्र शाहले पैसा दिएको विषयमा विवाद बढ्दा मतदान सकिएपछि कुटाकुट भएको हो। एक प्रत्यक्षदर्शीका अनुसार मतदान कार्य अन्तिम चरणमा पुगेका बेला शाहले एकजना कार्यकर्तालाई मतदानस्थलमै गोजीबाट एक हजार रुपैयाँ निकालेर दिएका थिए। मतदान सकिएर पनि मतपेटिका राखिसकेपछि पैसा दिएको कुरा निस्केपछि विवाद बढेको थियो।

पैसा दिएर मतदाता किनेको भन्दै राजेन्द्र पक्षका युवाले विरेन्द्रसँग विवाद गरेका थिए। ‘विरेन्द्रले चाहिँ उम्मेदवारी सदर नभएपछि आफ्नो मान्छेलाई पैसा फिर्ता दिएको बताइरहेका थिए।

त्यसै क्रममा विरेन्द्र र राजेन्द्र पक्षका तरुण दल नेता हरिसिंह कठायतबीच भनाभन भयो। विरेन्द्रले लाठी उठाएर हरिसिंहलाई हिर्काए। हरिसिंहले पनि शाहलाई एक मुक्का हानेका हुन,’प्रत्यक्षदर्शीले भने।

शाहले आफूमाथि हातपात भएको भन्दै प्रहरी कहाँ निवेदन दिने तयारीमा रहेको बताए।‘ममाथि हातपात भयो। अहिले म धेरै बोल्ने पक्षमा छैन। इलाका प्रहरी कार्यालयमा निवेदन दिन  जाँदैछु,’ उनले भने। अर्का उम्मेदवार श्रेष्ठले शाहको आरोपमा सत्यता नभएको बताएका छन्।‘विरेन्द्रजीलाई मैले नै बचाएको हुँ। त्यहाँका सबै प्रत्यक्षदर्शीले मेरो भूमिकालाई हेरेका छन्,’श्रेष्ठले भने ‘कसैको चरित्र हत्या गर्ने छुट कसैलाई छैन,प्रत्यक्षदर्शीले नै सबै कुरा देखेका छन्।’ आफूले विरेन्द्रलाई त्यहाँबाट जोगाएर सबैको सल्लाहअनुसार घर फर्केको श्रेष्ठले सुनाए।

कुल ३ सय १४ मतदाता रहेको कोहलपुरमा बिहीबार राति अबेरसम्म मतदान चलेको थियो। दुवै पक्षको सहमतिअनुसार शुक्रबार बिहान ८ बजे मत गणना गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन नसकेको मतदान अधिकृत(अधिवक्ता) प्रभाकर भट्टराईले जानकारी दिए। इलाका प्रहरी कार्यालय कोहलपुरले मतदान सम्पन्न भइसकेपछि दुवै पक्षबीच विवाद भएर सामान्य कुटाकुट भएको जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App