२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भाेलि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुने भएको छ।

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै शुक्रबारअधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

१३ वटा जिल्ला सबै तहको अधिवेशन गरिसकेपनि बाँकी जिल्लाले भने अहिलेसम्म पालिका तहको अधिवेशन सम्पन्न गरेका छन्।

आन्तरिक विवादका कारण केही जिल्लामा पूर्वर्निधारित कार्यतालिका प्रभावित भएको छ भने केहीमा आन्तरिक सहमतिमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन एकैदिन गर्ने समझदारी बनेको छ।

सहमतिमा कार्यतालिका संशोधन गरिएका जिल्लाहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनका लागि मिति तोकिएको मंसिर ६ गते नै दुवै तहको अधिवेशन गर्ने भएका छन्।

मंसिर १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको मूल नेतृत्व चयनका लागि मंसिर ६ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन महत्वपूर्ण हुने छ। सोही क्षेत्रीय अधिवेशनबाट २५ / २५ महाधिवेशन प्रतिनिधि छानिने छन्। उनीहरूले नै कांग्रेसको मूल नेतृत्वसहित नयाँ कार्यसमिति चयनको अधिकार राख्ने छन्।

त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट छानिने प्रतितिनिधिले संघीय संरचना अनुसार प्रदेश सभापतिसहित कार्यमिति चयन गर्नेछ। संविधानसभाबाट २०७२ असोजमा नयाँ संविधान जारी भएपछि फागुनमा १३औं महाधिवेशन गरे पनि कांग्रेसले संघीयता अनुसार पहिलो पटक संरचना निर्माण गर्न लागेको हो।

फेरि अनशन

सभापति शेरबहादुर देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा पार्टी क्रियाशील सदस्यता मनपरि वितरण गरेको भन्दै जिल्ला सभापतिसहित नेताहरूले केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन्। सदस्यता विवाद नसुल्टाइ एकपक्षीय ढंगबाट गरिएको अधिवेशन बदर गर्न कात्तिक मसान्तसम्म दिएको अल्टिमेट पुरा नभएपछि बुधबारबाट जिल्ला सभापति कर्ण मल्लसहितको टोलीले अनशन सुरु गरेका हुन्।

बहुमत जिल्ला कार्यसमितिको निर्णयले स्थगन गरेको अधिवेशन सभापति देउवाले राज्यसत्ता र राज्यशक्तिको चरम दुरूपयोग गरेर प्रहरी लगाएर अधिवेशन गराएको भन्दै उनीहरूले यसअघि गरिएको अधिवेशन बदर गर्न माग गरेका छन्।विवादकैबीच भदौ २५ गते अधिवेशन भएको थियो।  

युवा प्रोत्साहित गर्न शर्माको ४२ बुँदे प्रस्ताव

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा युवालाई प्रोत्साहित गर्न केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवा आउने व्यवस्था गर्नु पर्ने प्रस्ताव गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले बुधबार ४२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले दलमा रूपान्तरण,देशमा रूपान्तरणको अनिवार्य सर्त भएको दाबी गरेका हुन्।  

४० वर्षमुनिका क्रियाशील सदस्य संख्या करिब ४० प्रतिशत रहेको जनाउँदै शर्माले ३० या ४० वर्षसम्मका प्रतिनिधिहरू उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन्। 

दलहरूमा रूपान्तरणको स्पष्ट प्रभाव दलहरूको घरेलु जीवनसँगै देश निर्माणको गति, नीति र प्रवृत्तिमा देखिनुपर्ने भन्दै उनले दलभित्र योगदान र योग्यताको उचित सन्तुलन हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित: २ मंसिर २०७८ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App