१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शेखरको नाममा जुट्ला त सहमति?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एक साताअघि संस्थापनइतरबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला,पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाबीच समझदारी जुटे आफू बाधक नबन्ने बताए।

तर, पार्टी सभापति बन्ने पौडेलको तीव्र आकांक्ष भने कायमै छ। उक्त इच्छा पूरा गर्न छोटो समयका लागि नेतृत्व लिने प्रस्ताव पौडेलले अघि सारे पनि अर्का आकांक्षी शेखर कोइराला आफ्नो नाममा संस्थापनइतर समूहमा सहमति खोज्न सक्रिय भएका छन्।

नेतृत्वका अन्य आकांक्षीसँग संवाद थालेका शेखर नेता पौडेलका साथै भाइ तथा कांग्रेस महामन्त्री शशांकसँग कुरा गरेका छन्। चार दिन अघि नेता पौडेललाई भेट्न उनकै निवास पुगेका शेखरले मंगलबार साँझ भाइ शशांकलाई आफ्नैनिवास बोलाएका थिए।

देउवाविरुद्धको मोर्चाबन्दीमा एकले अर्कालाई सहयोग गर्न पौडेल र शेखरबीचको संवाद सकारात्मक भएको स्रोतको दाबी छ। दुवै आ–आफ्ना दाबी र प्रस्ताव एकअर्कामाझ राखेका थिए।

देउवाविरुद्ध सहज जित निकाल्न र सबैले स्वीकार्य नेतृत्व आफू भएको जिकिर गर्दै पौडेलले शेखरलाई उपसभापतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। तीन तहको निर्वाचनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गर्दै पौडेलले एकैपटक सभापतिमा सबैले स्वीकार गर्न नसक्ने जनाएका थिए।

शेखरले त्यसलाई अस्वीकार गर्दै जिल्ला जिल्लाका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गर्दै संस्थापनइतरबाट आफू नै बलियो उम्मेदवार रहेको दाबी गरेका थिए।

पार्टीको अविभावककारूपमा रहन र अवसर आउँदा पौडेललाई उचित जिम्मेवारी दिन आफु सकारात्मक रहेको शेखरले बताएको निकट स्रोतको दाबी छ।

तीन तहको निर्वाचनपछि पौडेललाई राष्ट्रपतिको जिम्मेवारीमा पुर्‍याउने प्रस्ताव शेखरले अप्रत्यक्ष रूपमा राखेको स्रोतको दाबी छ।

पार्टीका दर्जन बढी युवा नेताहरूलाई साथै लिएर जिल्ला जिल्लाको भ्रमणमा निस्कने गरेका शेखरले संस्थापन पक्षका धेरै नेतालाई पनि आफ्नो पक्षमा पार्ने दाबी गरेका थिए। संस्थापन पक्षमा बिद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिसँग पनि आफू संवादमै रहेको पौडेललाई जनाउँदै संस्थापन इतरबाट सभापतिका आकांक्षी महामन्त्री शशांक र पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि आफू साथ लिनसक्ने दाबी गरेका थिए।

अन्य आकांक्षीसँगको संवादलाई अघि बढाउने बताउँदै उठेका शेखर मंगलबार साँझ शशांकलाई आफ्नैनिवास बोलाएका थिए। दुई नेताबीचको छलफलमा १४औं महाधिवेशनमा शेखरलाई सभापतिमा सहयोग गर्ने समझदारी भएको निकट स्रोतको दाबी छ। देउवा नेतृत्व सरकारमा सहभागी नगराएपछि पौडेल र शशांकसँग असन्तुष्ट सुजाता कोइरालासँग पनि त्यहीबाट शेखर र शशांकले कुरा गरेका थिए। 

महाधिवेशन भएको तीन वर्षपछि शशांकलाई पार्टीको कार्यवाहक सभापतिकारूपमा अघि सार्दा १५औं महाधिवेशनबाट उनलाई मुल नेतृत्वमा पुर्‍याउन सहज हुने निकटहरूले सुझाएका थिए। त्यसका लागि शशांकलाई १४औं महाधिवेशनमा उपसभापतिको उम्मेदवार बनाउने गरी कुरा भएको स्रोतको दाबी छ। नेता पौडेल,सिंहसहितको समर्थन शखेरलाई हुनेमा शशांकले आशंका व्यक्त गरेका थिए। तर, शेखरले कोइराला परिवारभित्रबाट समझदारी निर्माण भएसँगै पौडेल र सिंहको समर्थनका लागि थप वातावरण बन्ने बताएका थिए।

त्यसपछि शशांकले सबैको समर्थन हुन्छ भने आफू केन्द्रीय सदस्यको मात्र उम्मेदवार हुन पनि तयार रहेको जनाएका थिए। बुधबार शशांक,शेखर र सुजाताले संयुक्त पत्रकार सम्मेलन गरेर कोइराला परिवारबाट शेखरलाई अघि सार्ने समझदारी बनेको दाबी गर्दै स्रोतले भन्यो,‘तर, बिहान भएपछि उहाँ (शशांक) सभापतिलाई भेटेर संखुवासभा पो हिंड्नु भएछ।’

शशांक जिल्लाको कार्यक्रममा हिंडेपछि शेखर पनि मध्यान्न गृहनगर विराटनगर पुगेका छन्। आफूहरूबीचमा सभापतिको प्रत्यासी को बन्नेमा समस्या नहुने शशांक र शेखर दुवैले पटकपटक भन्दै आएका छन्। तर, दुवैले आ–आफ्नो अडानमा कायमै रहँदा १४औं महाधिवेशनमा उनीहरू नै आमनेसामने हुने अवस्था आउन पनि सक्ने जनाउँदै एक नेताले भने, ‘सहमतिको सम्भावना टरिसक्यो भन्ने होइन। तर, कोइराला परिवारको यत्रो लिगेसी लिने कुरामा दुई भाइबीच हानाथाप हुनु अस्वभाविक भने होइन।’

नेता शेखर परिवारभित्रको सहमति जुटाएर बिहीबार हुने प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा आफ्नो पक्षमा थप माहोल खडा गर्ने पक्षमा देखिएका थिए। त्यसपछि सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंहलाई मनाउने योजनामा शेखर रहेको निकटहरूको दाबी छ।

पार्टी उपसभापति र सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरेका सिंहलाई निर्वाचनपछि पार्टी संसदीय दलको नेतासहित प्रधानमन्त्रीमा मनाउने रणनीतिमा रहेको एक नेताको दाबी छ। शशांक भन्दा शेखरप्रति सिंह केही लचिलो रहेको दाबी गर्दै ती नेताले भने,‘उहाँलाई त्यसमा मनाउन सकिन्छ भन्ने शेखर दा(शेखर कोइराला)को बुझाइ छ।’ तर, सिंहले आफू स्वभाविक उम्मेदवार भएको बताउँदै सभापतिको प्रत्यासी बन्ने कुरामा ‘इफ’ वा ‘बट’ केही नभएको दाबी गर्दै आएका छन्।

संस्थापन इतर समूहका नेता एक ठाउँमा उभिएपछि १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट बिद्रोह गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूलाई आफ्नो पक्षमा उभिन दबाब पर्ने शेखर निकट नेताहरूको बुझाइ छ।

नेता पौडेलबाट नेतृत्व झरेसँगै सिटौला पक्षसँग सहमतिको सम्भावना बढि हुने जनाउँदै उनलाई सम्मानित नेताका रूपमा राख्दै निकट नेतालाई टिममा समेटर अघि बढ्न सकिने शेखरसहित निकटहरूको विश्लेषण छ।

आफू सभापतिको प्रत्यासी बन्ने दाबी गर्दै सिटौला निकटहरूसँग भन्ने गरेका छन्,‘नेता मान्ने कोही उम्मेदवार देखिएको छैन। अरू के–के गर्छन् थाहा छैन म सभापतिको उम्मेदवार हो।’

प्रकाशित: २ मंसिर २०७८ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App