१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अन्य पार्टीसँग एमालेको तुलना हुन सक्दैनः ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई अन्य पार्टीसँग तुलना गर्न नमिल्ने बताएका छन्।

नेकपा एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले विधि, विधान, नीति र विचारले चलेको पार्टी भएकाले अन्य दलसँग तुलना हुन नसक्ने बताए।

अन्य पार्टीहरु वैचारिकहीन र बलजफ्ती ढंगले सञ्चालन भएको भन्दै उनले भने, ‘मान्छे मारेर, बलजफ्ती गरेर होइन, नीति र विचारले मन जितेर पार्टी चलाउनुपर्छ।’ अरु पार्टीले नीति, विचार, आचरण र उद्देश्य बिर्सदै गएको उनको भनाइ छ। एमाले पार्टी नीति र विचारको छलफल र निष्कर्षबाट जन्मिएको भन्दै उनले एमाले व्यवस्थित भएको दाबी गरे।  

एमालेको नीति र विचार अध्ययन गरेर पार्टी विशाल भएको उनले बताए। सबै कार्यकर्तालाई पार्टीको नीति र विचारअनुसार गतिविधि गर्न पनि उनले अनुरोध गरे।

आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्ने उनले दाबी गरे। ‘चुनावमा हामी देशको ठूलो पार्टी हुन्छ,’ उनले भने, ‘त्यतिबेला सरकारमा हामी हुन्छौं।’ गठबन्धनबिना अन्य दललाई चुनावमा जान उनले चुनौतीसमेत दिए।

साथै उनले उक्त कार्यक्रममा नेपाललाई विश्वमा चिनाउन सकिने सम्भावना भएको औँल्याए। ‘नेपाललाई विश्वमा चिनाउन सकिन्छ,’ उनले भने, ‘जसका लागि जलस्रोत, खनिज, जडीबुडी र धार्मिकस्थल लगायतलाई उपभोग गर्न सकिन्छ।’

दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन र जाजरकोटमा अन्य विषयमा अध्ययन भइरहेको उनले जनाए।

प्रकाशित: १ मंसिर २०७८ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App