२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी राष्ट्रिय सम्मेलनमा केन्द्रित

फाइल तस्बिर

सत्तासाझेदार माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमा जुटेको छ। त्यसका लागि शनिबारदेखि सुरु भएको टोल सम्मेलन र मंसिर ४ गतेदेखि सुरु हुने वडा सम्मेलनका लागि गाउँ तथा जिल्लास्तरीय नेताहरू कार्यक्षेत्रमा खटिएका छन्।

शनिबार टोल सम्मेलन हुन नसकेपछि मंसिर ४ अगावै वडा सम्मेलन गर्ने तयारीमा माओवादी केन्द्र जुटेको छ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीका लागि माओवादी केन्द्रले गाउँ नगर, टोल, वडा सम्मेलनलाई महत्व दिएको थियो। तर टोलमा भनेजस्तो अवस्था नभएपछि एकपटक वडा सम्मेलनमा केन्द्रित हुन थालेको हो।

कुनै चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउनेमा जोड दिएको छ। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार यही कात्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण सकिएपछि २७ गते टोल सम्मेलन र भेला सम्पन्न भइसकेका छन्।

उनका अनुसार अब मंसिर ४ गतेसम्म वडा सम्मेलन गर्ने र त्यहाँबाट नयाँ नेतृत्व चयन गर्नेछ। त्यसका लागि सोमबारबाटै विभिन्न जिल्लामा वडा सम्मेलन सुरु हुनेछन्। ११ गते गाउँ/नगरपालिका सम्मेलन, २५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ। ‘माओवादी पार्टी केन्द्रले पठाएको कार्यतालिका अनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’ उनले भने, ‘अब माओावदी केन्द्र वैचारिक राजनीतिक रूपले सुस्पष्ट भएर अघि बढ्नेछ।

माओवादी केन्द्रले गएको साउनमा माओवादीको २०७३ को विधान संशोधन गरेको थियो। २०७३ को प्रथम संशोधन २०७८ मा पार्टीका विभिन्न तह र तप्काको निर्वाचनको व्यवस्था गरेको छ। जुन नेकपा विधानकै परिमार्जित रूप हो।

त्यही विधानलाई थप व्याख्या गर्दै केन्द्रीय निर्वाचन आयोग कार्य सम्पादन नियमावली–२०७८ पास गरेको थियो। ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ स्थायी समिति सदस्य गजुरेलले भने।

एमाले–माओवादी एकीकरण र त्यसपछि बनेको नेकपाको संरचनाअन्र्तगत अहिले माओवादी केन्द्रले अन्तरिम विधान जारी गरेको छ। सो विधानमा माओवादी केन्द्रले १४ केन्द्रीय निकायको व्यवस्था गरेको छ। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्,केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन्।

माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशनसम्मका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ। जसमा २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरेको छ।

अन्तरिम विधानमा उल्लेख भएअनुसार दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिव सहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्षसहितको आवश्यक संख्याको एक केन्द्रीय सचिवालय रहने सो विधानमा उल्लेख गरेको छ।

माओवादी केन्द्रको विधानअनुसार सबै केन्द्रीय आयोग २५ सदस्यीय रहनेछन्। राष्ट्रिय परिषदमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूदेखि पार्टीसम्बद्ध जनवर्गीय, पेशागत, मोर्चा तथा अन्य सामाजिक संगठनका केन्द्रीय अध्यक्ष वा संयोजक वा प्रमुख रहने व्यवस्था छ।

केन्द्रीय समितिले बढीमा एक सय ४९ जना सम्मको अध्यक्ष, सचिव र सदस्यसहित सल्लाहकार समिति गठन गर्नसक्ने तथा जेष्ठ कम्युनिष्ट मञ्चमा केन्द्रीय समितिको कुल सदस्य संख्याको ५० प्रतिशत नबढ्नेगरी व्यवस्था गरेको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App