२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जिल्लाजिल्लामा गठबन्धनः नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा राजनीतिक गठबन्धन राष्ट्रको आवश्यकता भएको बताएका छन्।

राष्ट्रिय  राजनीतिमा गठबन्धनको संस्कार प्रभावशाली बन्दै गएको उनले बताए। शनिबारदेखि सुरु भएको दुई दिने केन्द्रीय कमिटीको दोस्रो बैठकमा आफ्नो लिखित धारणा राख्दै अध्यक्ष नेपालले विभिन्न प्रदेश र जिल्लामा पनि दलीय गठबन्धनको प्रक्रिया अघि बढेको बताएका हुन्।

‘विभिन्न प्रदेश र जिल्लामा समेत पाँच दलीय गठबन्धनको संयन्त्र निर्माण गर्ने प्रक्रिया अघि बढेको छ। सोही क्रममा हाम्रो पार्टी संघीय सरकारका चार महत्पूर्ण मन्त्रालयमा सहभागी हुँदै राष्ट्रिय  राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेको छ,’ अध्यक्ष नेपालले आफ्नो लिखित मन्तव्यमा भनेका छन्।

उनले बागमती प्रदेश  र प्रदेश नं. १ मा मुख्यमन्त्रीको जिम्मेवारीका साथ प्रदेश सरकार सञ्चालनमा पार्टीले नेतृत्व गरिरहेको र यसरी नै स्थानीय सरकार सञ्चालनमा पनि पार्टीको भूमिका महत्पूर्ण र प्रभावकारी बन्दै गएको बताए। सुदूरपश्चिमाञ्चल प्रदेशमा पार्टी सबैभन्दा ठूलो दल भएको उनले दाबी गरे। उनले अहिलेको अहिलेको निर्वाचन खर्च डरलाग्दो भएको भन्दै यो प्रणाली नसच्चाउने हो भने नेपालको राजनीति गलत मानिसको कब्जामा पुग्ने पनि बताएका छन्। उनले खर्चिलो निर्वाचन प्रणाली सुधार्न तथा कम खर्चमा हरेक तहका निर्वाचन सञ्चालन गर्ने प्रणाली विकसित गर्न कटिबद्ध रहेको पनि बताएका छन्।

‘हामी सके देशको निर्वाचन कानुनमा आवश्यक सुधार गरेर निर्वाचनलाई कम खर्चिलो, स्वस्थ र पारदर्शी बनाउन चाहन्छौँ भने कानुन सुधार्न नसकेको अवस्थामा पनि आफ्नो तर्फबाट नमुना प्रस्तुत गर्ने छौं,’ नेपालले आफ्नो वक्तव्यमा भनेका छन्, ‘म अहिले नै आव्हान गर्न चाहन्छु, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का हरेक तहका उम्मेदवारले कमभन्दा कम खर्चमा निर्वाचन परिचालन गरेर नमुना प्रदर्शन गर्नेछन्।’

सो अवसरमा नेता झलनाथ खनालले पनि लिखित प्रतिवेदनका साथ आफ्ना धारणा राख्दै एमाले अब दक्षिणपन्थी भाषमा गइसकेको बताउँदै जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको उल्लेख गरेका छन्। ‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो। त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति  र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ। त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं  र नेपाली जनताको सपनाका रूपमा हामीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को निर्माण गर्न सक्छौं,’ खनालको दस्तावेजमा उल्लेख छ।

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ कार्तिक २०७८ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App