१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरीमा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा भएन सहमति, ३० गते मतदान

नेकपा एमालेको १४ औं महाधिवेशनको लागि प्रतिनिधि चयनमा एमाले सुनसरीले सहमति हुन नसकेपछि मतदान हुने भएको छ।

सुनसरीको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेताहरुबीच सहमति प्रयास असफल भएपछि शनिबार प्रतिनिधि कोटाभन्दा ४ गुणा बढीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। सुनसरीमा संस्थापन पक्ष र असन्तुष्ट रहेको जेठ २ पक्षको समूह रहेको छ।

संस्थापन पक्षमा पनि प्रतिनिधि हुन चाहने नेताहरु बढी भएपछि सहमति जुट्न नसकेको हो। शनिबार इनरुवास्थित पार्टी कार्यालयमा कूल ४२ जना महाधिवेशन प्रतिनिधि कोटा भएकोमा १८६ जनाले उम्मेदवारी दर्ता गराएको प्रारम्भिक तथ्यांक भएको एमाले सुनसरीको जिल्ला निर्वाचन अधिकृत विरेन्द्र बस्नेतले जानकारी दिए।

अधिकृत बस्नेतका अनुसार अब २ दिनसम्म दाबी विरोध र नाम फिर्ता गर्ने समय दिइनेछ भने कार्तिक ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ। एमाले सुनसरीले कार्तिक ३० गते प्रतिनिधि चयनको लागि हुने निर्वाचनको केन्द्र पनि तोकिसकेको छ।

निर्वाचन अधिकृत बस्नेतका अनुसार सुनसरी निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधि कोटा रहेकोमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी दिएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं २ मा खुलातर्फ ८ जनाको कोटामा ४१ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं ३ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी परेको छ। यसैगरि, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ। यसैगरि, दलित खुलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको छ। 

एमाले सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं १ मा ५५३७, क्षेत्र नं २ मा ७०३८, क्षेत्र नं ३ मा ५२३३ र क्षेत्र नं ४ मा ५३०५ मतदाता सदस्यहरु रहेका छन्। यस्तै, दलित मतदाता संख्या १६५२ जना रहेको छ।

जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक खेमराज पोख्रेलले भने २ दिनको समय भएकोले अझै पनि सर्वसम्मत प्रतिनिधि चयन हुने सम्भावना रहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा सहजीकरण गर्नको लागि नेताहरु जुटिसकेको पनि बताए।

प्रकाशित: २७ कार्तिक २०७८ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App