६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बाँकेका ८१ वटै वडामा सुरु गरियो निर्वाचन कार्यक्रम

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ वटै वडामा आज (शनिबार) औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु भएको छ। केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यक्रम सुरु गरेका हुन्।

बाँकेका सबै वडामा एकैसाथ निर्वाचन कार्यक्रम सुरु भएको जिल्ला निर्वाचन अधिकृत एवम वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए। ‘सबै मतदान केन्द्रमा खटिनु भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतले औपचारिक रुपमा निर्वाचन कार्यक्रम सुरु गरिसक्नु भएको छ,’ उनले नागरिकसंग भने।

बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडामा १ जना मतदान अधिकृत र २ जना सम्म सहायक मतदान अधिकृत परिचालित भएको सहायक निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए। शनिबार बिहान १० बजे ८१ वटै वडाका मतदान केन्द्रमा प्रथम मतदाता नामावली प्रकाशन गरिएको उनले बताए।

यस्तै बिहान ११ः१५ बजे संशोधनपछि मतदाता नामावली प्रकाशन गरिएको छ। निर्वाचन परिचालन समितिका अनुसार बिहान ११ः२० देखि ३ बजेसम्मका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकिएको छ। आजै दिउँसो ३ः५० बजे प्रथम उम्मेदवारको नामावली प्रकाशन, दिउँसो ३ः५५ देखि ४ बजेसम्म उम्मेदवारीमाथि विरोध संशोधन गरिनेछ।

निर्वाचन कार्यक्रम अनुसार दिउँसो ४ बजे उम्मेदवारको दावी विरोधपछिको संशोधित नामावली प्रकाशन, ४ः५ बजेदेखि ६ बजेसम्म उम्मेदवारी फिर्ता, बेलुका ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कात्तिक २८ गते (आइतबार) बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान र मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ।

बाँकेको वडादेखि जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिकारनगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ।

प्रकाशित: २७ कार्तिक २०७८ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App