१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिगमनकारी अझै सल्बलाई रहेका छन्ः अर्थमन्त्री शर्मा

प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्मा। तस्बिरः सन्देश/नागरिक

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाई रहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाईरहेका बताएका हुन्।

‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, जनताको उपलब्धी उल्टाउन खोज्नेहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतको पाँच दलीय गठबन्धनको आन्दोलनका कारण केही हदसम्म परास्त भएका छन्, तर फेरि पनि उनीहरु सल्बलाई रहेका छन्, तिनीहरुलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुस्,’ उनले भने।

अर्थमन्त्री शर्माले सरकारमा जानका लागि मात्र पाँच दलीय गठबन्धन नबनेको बताए। उनले भने, ‘यो गठबन्धन त सरकारमा जानका लागि होइन, लोकतन्त्रको रक्षाका लागि, संविधानको रक्षाका लागि, प्रेस स्वतन्त्रताको रक्षाका लागि गठबन्धन बनेको हो। उनले पूर्ण लोकतन्त्र भनेकै समाजवाद भएको अर्थ्याए। ‘लोकतन्त्र होइन, पूर्ण लोकतन्त्रमा जानुपर्छ, त्यो भनेको समाजवाद हो,’ उनले भने। उनले प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए।

उनले भने, ‘संघ सरकारले प्रेस माथि अंकुश लगाउँदैन। जहाँ अंकुश लगाउने गरि विधेयक आएको छ, त्यो पनि सच्याउनका लागि म आग्रह गर्दछु।’ प्रदेशमा प्रेसमाथि अंकुश लगाउने खालका विधेयक आएको प्रति लक्षित गर्दै उनले त्यो सच्याउन आग्रह गरेका हुन्।

अर्थमन्त्री शर्माले वचनले लोकतन्त्र भन्ने तर कर्मले प्रतिगमन गर्नेहरु प्रति सचेत रहनुपर्ने बताए। ‘यहाँ वचनले लोकतन्त्रको मीठा मीठा कुरा गर्छन् तर कर्मले प्रतिगमन गर्नेहरु छन्। त्यसविरुद्ध प्रेस जगतले भण्डाफोर गर्नुपर्छ,’ उनले भने। उनले आदिवासी, जनजाति, दलित, महिला, उत्पीडित समुदायमाथि हुने दमन, विभेद र भ्रष्टाचारबिरुद्ध प्रेसले भण्डाफोर गर्दै जनपक्षीय पत्रकारिता गर्नुपर्ने औंल्याए। उनले भने, ‘मैले नै अत्याचार गरेँ वा भ्रष्टाचार गरेँ भनेपनि भण्डाफोर गर्नका लागि म अपिल गर्दछु।’

अर्थमन्त्री शर्माले वर्ग संघर्षदेखि जनयुद्ध हुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष प्रचण्डले गरेको बताए। ती उपलब्धी रक्षा गर्ने कामपनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहेको उनले दाबी गरे। उनले समाजवादको आधार तयार गर्दै त्यहाँसम्मको यात्रा तय गर्ने काममापनि प्रेस जगतले भूमिका खेल्नुपर्नेमा जोड दिए। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज हितराज पाण्डे (उत्तम)ले भ्रष्टाचार, कुशासन र प्रतिगमनविरुद्ध प्रेस जगत दृढतापूर्वक उभिनुपर्ने बताए।

प्रेस सेन्टर नेपालका केन्द्रीय संयोजक महेश्वर दाहालले प्रेस जगत कमजोर भयो भने फेरिपनि प्रतिगमन दोहोरिन सक्ने खतरा रहेको औंल्याए। उनले केपी ओली र तिनका मतियारहरु समाजवादको ओरालो यात्रामा रहेको र तिनले कुनैपनि प्रतिगमन गर्नसक्ने बताए। प्रेस सेन्टर गण्डकी प्रदेश ईञ्चार्ज त्रिभूवन पौडेलले नेकपा माओवादीले संकल्प गरेको समाजवादको यात्रामा प्रेस सेन्टर पिएलए बनेर काम गर्न तयार रहेको बताए।

प्रकाशित: २७ कार्तिक २०७८ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App