२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको नेतृत्व चयन सहमतिमै हुन्छ: सचिव ज्ञावली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्। 

पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्। सचिव ज्ञावलीले भने, 'अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ। केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ।' केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए। महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, '२७ गते देशभरि  र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ।' महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उनले भने, 'पालिका र जिल्लामा त्यस्तो समस्या छैन। केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ। यो समाधान हुँदै जान्छ।' पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने  जानकारी दिँदै उनले बताए। '१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ।'

प्रकाशित: २५ कार्तिक २०७८ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App