५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने कांग्रेस नेताको विश्वास

नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रम। तस्बिरः नागरिक

नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।

लुम्बिनी प्रदेशका उर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री बीरबहादुर रानाले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई पुनर्जीवित गर्ने विश्वास गरे। उनले वडादेखि केन्द्रसम्म असल नेतृत्व चुन्न सके मात्र कांग्रेसले पुनर्जीवन पाउने बताए।

मन्त्री रानाले पार्टी संगठन ठिकसँग नचल्दा कमजोर बन्दै गएको भन्दै यसको समिक्षा गर्न जरुरी बताए। मुलुकको सबैभन्दा पुरानो पार्टी किन कमजोर भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालले १४ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिए। एकताको महाधिवेशन बनाउनमा सबैले प्रण गर्नुपर्ने उनको भनाइ छ। पूर्व सिँचाइ राज्यमन्त्री एवम् पार्टीका रोल्पा जिल्ला सभापति अमरसिंह पुनले अझैपनि अधिवेशन सार्ने चलखेल भएको बताए। उनले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने बताए।  

नेपाली कांग्रेस कपिलवस्तुका सभापति एवम् पूर्व सिँचाइ राज्यमन्त्री सुरेन्द्र आचार्यले आसन्न अधिवेशनले पार्टीलाई पुनर्जीवित गर्नेमा आफू आशावादी रहेको बताए। आचार्यले वडादेखि केन्द्रसम्म सही नेतृत्व आउन सकेपछि मात्र कांग्रेस पार्टी सुदृढ हुने बताए।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाली कांग्रेस बाँकेका पूर्वसभापति कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी भोला, आशा बि.क. लगायतले बोलेका थिए।

प्रकाशित: २२ कार्तिक २०७८ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App