१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन कायम रहने वा नरहने भन्नेमा अहिल्यै भन्न सकिन्न: काँग्रेस नेता महत

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने वा नरहने भन्ने बारेमा अहिल्यै निश्कर्षमा पुग्न नसकिने बताएका छन्। काँग्रेस एक्लैले निर्वाचनमा बहुमत ल्याउने गरी प्रयास जारी राखेको भन्दै उनले गठबन्धन आगामी निर्वाचन सम्मका लागि तय नभएको संकेत गरे।

‘सरकारको अवधिभर गठबन्धन कायम रहन्छ’, पाथीभरा मन्दिरको दर्शनपछि काठमाडाँै फर्कनुअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनले निरन्तरता पाउने नपाउने विषयमा अहिले नै भन्न सकिन्न।’ घुमाउरो पारामा उनले निर्वाचनका बेला गठबन्धन साझेदार दलहरु पनि आ–आफ्नो हितको योजनामा हुनसक्ने भन्दै आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा जान सक्ने संकेत गरे।

काँग्रेस नेता महतले हाल न्यायको क्षेत्रमा देखिएको समस्याप्रति प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबरा गम्भीर बन्नुपर्ने बताए। प्रधानन्यायाधीस आफैं गम्भीर बन्दै समस्याको निकास अदालतबाटै निस्कनुपर्ने महतले धारणा राखे।

स्वतन्त्र न्यायपालिकामा हाल देखिएको समस्या चाँडै अन्त्य हुनुपर्ने बताउँदै प्रधानन्यायाधीसले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको दावी गरे। न्यायालयमा देखिएको समस्याप्रति विभिन्न टिकाटीप्पणी आइ रहेपनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनको कार्य शुरु गर्ने वातावरण बनाउन प्रधानन्यायाधीस गम्भीर हुनुपर्ने उनको भनाइ थियो। नेता डा. महतले पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको बताए।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले यसअघि पार्टी सभापति शेरबहादुर देउबालाई सभापतिका लागि सहयोग गरेको उल्लेख गर्दै अब आउँदो महाधिवेशनमा महामन्त्रीका लागि आफूले सहयोग पाउने विश्वास व्यक्त गरे।

पार्टीको महाधिवेशन निर्धारित समयमै हुने पनि उनको भनाइ थियो।

प्रकाशित: १७ कार्तिक २०७८ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App