२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विश्वासको मतको विपक्षमा मतदान गर्ने विपक्षी गठबन्धनको निर्णय

प्रदेश १ को पाँच दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रदेश १ को प्रदेशसभामा  मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

गठबन्धनको बैठकल दुई बुँदे निर्णय गर्दै विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने, गठबन्धनमा रहेका दलहरूको सम्बन्धलाई  सुदृढ गर्दै संस्कार र सम्बन्धलाई निरन्तरता दिने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए। उनले भने, ‘भोलिको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं।’

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर विपक्षी गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाएर संसद बैठक स्थगित गराएको थियो। देउवाको भ्रमणलाई देखाइए पनि कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने विषयमा पूर्व सहमतिको माग गरेको थियो। प्रदेशसभामा कात्तिक १५ गते विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची छ।

प्रदेशसभाका हाल कायम ९२ जना सांसदमध्ये सत्तारुढ नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद रहेका छन्। विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन्। सत्ता जोगाउन मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन आवश्यक पर्ने छ।

प्रकाशित: १४ कार्तिक २०७८ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App